भूकम्प पीडितलाई एमालेले राहत सामग्री वितरण गर्ने

काठमाडौं, कात्तिक २०, २०८०ः

नेकपा (एमाले) ले जाजरकोट भूकम्पमा परी घरबारबिहीन भएका पीडितलाई एक करोड रुपियाँ बरावरको राहत सामग्री वितरण गर्ने भएको छ । पार्टीको समाजिक सेवा केन्द्रले भूकम्प पीडितहरुका लागि राहत सामग्री जाजरकोट र रुकुमपश्चिम पठाउने तयारी गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा केन्द्रका प्रमुख एवं एमाले केन्द्रीय सदस्य मोतिलाल दुगडका अनुसार भूकम्पको बिपतिमा परेकालाई सहयोग गर्न केन्द्र अग्रसर भएको हो । केन्द्रले भूकम्प पीडितका लागि चामल, दाल, चाउचाउ, विस्कुट, नुनजस्ता खाद्य सामग्री उपलब्ध गराउने छ। यसैगरी, जाडोबाट पीडितलाई बचाउनका लागि कम्बल र टेन्ट पनि तिवरण गर्न लागिएको दुगडले जानकारी दिनुभयो।

दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ । केही सामग्री नेपालगञ्ज, दाङलगायतका ठाउँमा खरिद गरिएको उहाँले बताउनुभयो । पहिलो चरणको राहत सामग्री दुई दिनभित्र पीडितहरुसम्म पुराउने तयारी भएको उहाँको भनाइ छ। दोस्रो चरणमा थप राहत सामग्री उपलब्ध गराइने दुगडले जानकारी दिनुभयो। दुई चरण गरेर १ करोड रुपियाँ बराबरको राहत सामग्री वितरणको तयारी भएको छ, उहाँले भन्नुभयो ।

भूकम्पको भोलिपल्ट अर्थात कात्तिक १८ गतेदेखि एमालेका नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरु पीडितको उद्धार र राहतका लागि खटिरहेका छन्। पीडितहरुको दैनिकीलाई थप सहज बनाउन एमालेले सामग्री पनि १८ गतेदेखि नै वितरण सुरु गरेको उहाँले बताउनुभयो ।

एमालेले भूकम्पमा परी निधन भएकाहरुलाई श्रद्धान्जली व्यक्त गरेको छ भने घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन, घरबार विहीनहरुलाई तत्काल घरबासको व्यवस्था गर्न सरकारसँग एमालेले माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!