मध्यपुर थिमि बोदेमा नमूना मतदान केन्द्र : महिलाकै नेतृत्वमा सम्पूर्ण जिम्मेवारी

मध्यपुर थिमि, २० फागुन २०८२ः
कृष्ण किसी

बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुरमा विभिन्न मतदान स्थल र केन्द्र तोकिएका छन् । तीमध्ये भक्तपुर क्षेत्र नं. २ अन्तर्गत मध्यपुर थिमि नगरपालिका–९ बोदेमा रहेको मतदान केन्द्र विशेष चर्चामा छ । यहाँको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हाल्दै नमूना मतदान केन्द्रका रूपमा विकास गरिएको छ ।

“निर्वाचन पुरुषको मात्र जिम्मेवारी होइन, हामी पनि सक्छौं” भन्ने सन्देशसहित स्थापना गरिएको यस केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहायक र सुरक्षाकर्मीसम्म सबै महिला नै खटिएका छन् । यो मतदान केन्द्र भक्तपुर क्षेत्र नं. २ को मतगणना स्थल बोदेस्थित कृषि विकास बैक तालिम केन्द्र परिसरभित्र रहेको छ ।

भक्तपुर क्षेत्र नं. २ की मतदान अधिकृत राधिका सुवालले सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको जानकारी दिँदै यसै कारण केन्द्रलाई ‘नमूना मतदान केन्द्र’ नामकरण गरिएको बताइन् । स्वतन्त्र पत्रकार संघ भक्तपुरले बुधबार आयोजना गरेको अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा उनले भनिन्, “कर्मचारी मात्र होइन, सुरक्षाकर्मीसमेत सबै महिला नै छन् ।”

केन्द्रमा चार वटा बुथ व्यवस्था गरिएको छ । प्रत्येक बुथमा मतदान अधिकृतको नेतृत्वमा नौ जनाको टोली खटाइएको छ । यसअनुसार चार जना मतदान अधिकृतसहित ३६ महिलाको टोली निर्वाचन सञ्चालनमा परिचालित छन् । सुरक्षातर्फ पनि प्रत्येक बुथमा दुई दर्जन सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

उक्त केन्द्रकी एक मतदान अधिकृत सृजना महर्जनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन महिलाको नेतृत्व सक्षम र प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । कुनै पनि अव्यवस्था हुन नदिन विशेष कार्ययोजना तयार गरिएको जानकारी दिँदै उनले प्रत्येक मतदान केन्द्रमा महिला स्वयंसेविका परिचालन गरिने र सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतबीच नियमित समन्वय भइरहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!