कोशीमा बर्डफ्लुः २ लाख २७ हजार कुखुरा नष्ट हुँदै, किसान चिन्तित

विराटनगर, ६ वैशाख २०८३ः

कोशी प्रदेशकै सबैभन्दा ठुलो सुनसरी स्थित पोल्ट्री फार्ममा बर्डफ्लु फैलिएको पुष्टि भएपछि ठूलो सङ्ख्यामा कुखुरा नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ ।

सुनसरी र मोरङका दुई ठूला फार्ममा रहेका कुल २ लाख २७ हजारभन्दा बढी कुखुरा नष्ट गर्ने तयारी गरिएको छ । एउटै फार्ममा यति धेरै सङ्ख्यामा कुखुरा नष्ट गर्न लागिएको यो कोशी प्रदेशकै इतिहासमा पहिलो ठूलो घटना भएको जनाइएको छ । सुनसरीको रामधुनी नगरपालिका र मोरङको बुढीगङ्गामा रहेका फार्ममा पछिल्लो पटक बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो । सरकारी टोलीले आजैदेखि कुखुरा मार्ने (कुलिङ) कार्य सुरु गर्ने जनाएको छ ।

रामधुनीस्थित ‘सुनसरी पोल्ट्री फार्म’ मा १ लाख ५५ हजार र बुढीगङ्गास्थित पूर्वाञ्चल ग्रुपको फार्ममा ७२ हजार कुखुरा नष्ट गर्ने तयारी पूरा भएको छ । पशु सेवा विभागले दुई दिनअघि नै ती फार्ममा बर्डफ्लु पुष्टि गरेको थियो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोजकुमार महतोका अनुसार हालसम्म करिब ७ हजार कुखुरा सङ्क्रमणका कारण आफैं मरेका छन् । बाँकी कुखुरा थप संक्रमण फैलिन नदिन मार्नुपर्ने बाध्यता रहेको महतोले बताए । कुखुरा नष्ट गर्न ११० जना जनशक्ति परिचालन गरिएको छ, जसमा ८० जना फार्मका कामदार र ३० जना बाहिरबाट खटिएका छन् ।

यस्तै, भेटेरिनरी अस्पताल मोरङका प्रमुख डा. अजयकुमार शाहका अनुसार बुढीगङ्गामा रहेका ७२ हजार कुखुरा पनि आजै नष्ट गरिने तयारी छ । कुखुरा नष्ट गर्ने प्रक्रिया निकै संवेदनशील हुने भएकाले सावधानी अपनाउनुपर्ने र यसका लागि पर्याप्त समय र जनशक्ति आवश्यक पर्ने जनाइएको छ । संक्रमित कुखुरालाई टाउकोमा प्रहार गरी मारेर गहिरो खाल्डोमा चुन र ब्लिचिङ पाउडर प्रयोग गर्दै सुरक्षित रूपमा पुर्ने गरिएको छ । ठूलो सङ्ख्यामा कुखुरा व्यवस्थापन गर्न डोजरसमेत प्रयोग गरिएको छ ।

सुनसरीमा बर्डफ्लुको प्रकोप तीव्र बन्दै गएको छ । जिल्लाका १६–१७ प्रभावित क्षेत्रमा यसअघि नै २ लाखभन्दा बढी कुखुरा नष्ट गरिसकिएको छ । आजको सङ्ख्या थपिँदा कुल क्षति अझै बढ्ने देखिएको छ । यस घटनाले कोशी प्रदेशको पोल्ट्री क्षेत्रमा अर्बौंको लगानी जोखिममा परेको छ । साना किसानदेखि ठूला व्यवसायीसम्म मारमा परेका छन् । ऋण लिएर व्यवसाय गरेका किसानहरू आफ्नो लगानी नष्ट हुँदा चिन्तित बनेका छन् ।

सरकारले बर्डफ्लुबाट प्रभावित किसानलाई ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको भए पनि प्रक्रियागत ढिलाइ र बजेट अभावका कारण किसानहरूमा अन्योल देखिएको छ । हाल प्रशासनले प्रभावित क्षेत्र सिल गर्दै कुखुराजन्य पदार्थ मासु, अण्डा तथा दानाको ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!