काठमाडौँ, ११ वैशाख २०८३ः
राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ पर्नुभएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आज पाण्डेलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो।
प्रवक्ता श्रेष्ठका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काहरूका विवरण हेरफेर गरेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो।
सीआईबीका अनुसार सोही कसुरमा भीषण कन्स्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठलाई पनि पक्राउ गरिएको छ। प्रहरीका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावसम्बन्धी डकुमेन्ट परिवर्तन गरेको भन्दै परेको उजुरीका आधारमा साइबर ब्यूरो, भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको थियो।
प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सोही विषयमा ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरी हाल परिवर्तन भएको सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत पनि कसुरमा थप अनुसन्धान भइरहेको छ।”
उक्त मुद्दामा हालसम्म ९ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।