काठमाडौं ।
रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल उपत्यका शाखाको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। शाखाको चौथो वार्षिक साधारण सभाको अवसरमा सम्पन्न निर्वाचन प्रक्रियाबाट पुण्यप्रसाद नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
निर्वाचन समितिका अनुसार, कार्यसमितिका सबै पदमा आवश्यक संख्या बराबर मात्र उम्मेदवारी परेपछि मतदान प्रक्रिया आवश्यक नपरेको हो। समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता शिवराज धितालले संघको विधान बमोजिम सबै पदमा एकल उम्मेदवारी कायम भएकाले नयाँ कार्यसमिति निर्विरोध चयन भएको घोषणा गर्नुभयो।
यसअघि कार्यसमिति सदस्य पदका उम्मेदवार राजेश न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए। न्यौपानेको फिर्तासँगै निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको थियो।
नयाँ कार्यसमितिमा को-को?
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जयराम फुयाल, महासचिवमा दिपक प्रसाद दाहाल र कोषाध्यक्षमा किरण तिमलसिना चयन हुनुभएको छ। यस्तै, सदस्यहरूमा कृष्ण बहादुर अस्थानी, प्रकाश घिमिरे र पुरुषोत्तम भुर्तेल निर्विरोध निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष पुण्यप्रसाद नेपालले नेपाल सर्जिकेम इन्टरनेशनलको प्रतिनिधित्व गर्नुहुन्छ भने उपाध्यक्ष फुयालले कागेश्वरी टेड कन्सर्नको प्रतिनिधित्व गर्नुहुन्छ।
निर्वाचन सम्पन्न भएपछि संघले नवनिर्वाचित टोलीलाई बधाई ज्ञापन गर्दै आगामी कार्यकालमा व्यावसायिक हित र संस्थागत विकासका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।