कठिन परिस्थितिमा पनि नेपाल प्रहरी नागरिक सुरक्षामा : आइजिपी कार्की

काठमाडौँ, २६ पुस २०८२ः

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताउनुभएको छ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२ को शुभारम्भ गर्दै उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालय तथा ट्राफिक संरचनामा ठूलो क्षति पुगेको स्मरण गराउनुभयो।

“त्यस कठिन घडीमा पनि प्रहरी जुत्ता र लुगा नहुँदा समेत सडकमा उभिएर नागरिकको सुरक्षा गरिरह्यो,” आइजिपी कार्कीले भन्नुभयो, “आज हामी खरानीबाट उठेर फेरि पनि नागरिक सुरक्षाका लागि सडकमा छौँ।”

उहाँले ट्राफिक सप्ताहलाई औपचारिक कार्यक्रम मात्र नभई नागरिक चेतना अभिवृद्धिको अभियानका रूपमा लिन आग्रह गर्दै सवारी चालकदेखि पैदल यात्रुसम्म सबैले ट्राफिक नियमको पूर्ण पालना गर्ने विश्वास व्यक्त गर्नुभयो।

“ट्राफिक प्रहरीले हात हल्लाएर ड्युटी गर्नुपर्ने अवस्था अन्त्य होस्,” उहाँले भन्नुभयो, “सभ्य नागरिक बनौँ, ट्राफिक नियम पालना गरौँ—यही ट्राफिक सप्ताहको मूल उद्देश्य हो।”

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जेनजी आन्दोलनका क्रममा ट्राफिक कार्यालयमा भएको आगजनीबाट संरचना, उपकरण र नागरिकका महत्त्वपूर्ण कागजात नष्ट भएको जानकारी दिनुभयो। उहाँले आम नागरिकको सहयोगमा पुनर्निर्माणको चरणमा रहेको बताउनुभयो।

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी ईश्वर कार्कीले बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिक्षित वर्गबाट समेत ट्राफिक नियम उल्लङ्घन हुने गरेको उल्लेख गर्दै अभियानले यसमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका उच्च अधिकारी, कलाकार र सञ्चारकर्मीको सहभागिता रहेको थियो। अभियान आजदेखि सुरु भई माघ ३ गतेसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!