महेश बस्नेतद्वारा चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

भक्तपुर, १० फागुन २०८२ः

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले भक्तपुर क्षेत्र नं–२ का लागि आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई भक्तपुरबाट कार्यान्वयन गर्ने उद्घोषसहित उनले पूर्वाधार, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राख्दै विभिन्न योजना अघि सारेका हुन्।

प्रतिवद्धता पत्रमा देशकै जेठो अस्पताल वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गरी चिकित्सा अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गर्ने उल्लेख छ। साथै सूर्यविनायक नगरपालिकाको अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्ने र नेपाल–कोरिया मैत्री अस्पतालको स्तरोन्नति गर्ने योजना पनि समावेश गरिएको छ।

पूर्वाधारतर्फ सूर्यविनायक–धुलिखेल सडक निर्माण सम्पन्न गराउने, पेप्सीकोला–सानोथिमि–सल्लाघारी सडक विस्तार गर्ने, अरनिको राजमार्गको सौन्दर्यीकरण गर्ने तथा कोटेश्वर क्षेत्रको सवारी चाप घटाउन जडिबुटी–मनोहरा करिडोरमा बेलब्रिज सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।

खानेपानी समस्या समाधानका लागि ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिँदै ‘वाटर बैंकिङ’ अवधारणा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। शहरी विकासअन्तर्गत गठ्ठाघरमा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण र ‘ल्यान्ड पुलिङ’मार्फत स्मार्ट सिटी विकासको योजना पनि अघि सारिएको छ।

शिक्षातर्फ ‘एक पालिका, एक प्राविधिक शिक्षालय’ अवधारणा कार्यान्वयन गर्ने, सामुदायिक क्षेत्रमा पोलिटेक्निक कलेज स्थापना गर्ने तथा ‘एक घर एक स्नातक’ अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ। युवालाई स्वरोजगारमुखी कार्यक्रममार्फत रोजगारीसँग जोड्ने योजना पनि प्रतिवद्धता पत्रमा समेटिएको छ।

बस्नेतले आफ्नो अघिल्लो कार्यकालमा हनुमन्ते कोरिडोर निर्माण, ५ अर्ब ५० करोड रुपैयाँ बराबरका सडक आयोजना, रंगशाला तथा दर्जनौं पुल निर्माणलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्।

उनले प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन्, “हामी र हाम्रा कार्यक्रम पार्टीमुखी होइनन्, जनमुखी छन्। भक्तपुर क्षेत्र नं–२ का जनताबाट पुनः मूल्याङ्कनको अपेक्षा गरेको छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!