दिपशिखाको प्रतिबद्धता–पत्र सार्वजनिकः ‘स्वावलम्बी युवा, राष्ट्रको शान’ अभियानदेखि नेवारी अयलालाई ब्रान्डिङ गर्ने योजना

मध्यपुर थिमि, ११ फागुन २०८२ः
रत्ब काजि प्रजापति

नेकपाका भक्तपुर क्षेत्र नं–२ का प्रतिनिधि सभा उम्मेदवार रामप्रसाद सापकोटा ‘दिपशिखा’ले आम्दानी वृद्धि र रोजगारी सिर्जनालाई केन्द्रमा राख्दै ‘युवा नेतृत्वको नयाँ भिजन : समृद्ध भक्तपुर हाम्रो मिसन’ नारासहित १० बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।

आज मध्यपुर थिमिको निगु पुखुमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त दस्तावेजमा दिपशिखाले पुरातात्विक तथा प्राकृतिक सम्पदा संरक्षण, कला–संस्कृति जगेर्ना, आम्दानी र रोजगारी सिर्जना, भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक विकास, विकासमा पारदर्शिता र सुशासन तथा ‘भयमुक्त नागरिक, सुरक्षित भक्तपुर’ लगायतका विषय समेटेका छन्।

सापकोटाले भक्तपुर क्षेत्र ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाले सम्पन्न रहेको उल्लेख गर्दै एकीकृत पर्यटकीय पदमार्ग विकास गर्ने घोषणा गरे। मध्यपुर–सूर्यविनायक क्षेत्रलाई जोडेर ‘सांस्कृतिक ट्रेल’ र ‘पर्यापर्यटन ट्रेल’ निर्माण गरिने उनले बताए। उनका अनुसार सूर्यविनायक क्षेत्रमा सानो पर्यटकीय खेलौना रेल सञ्चालनको योजना अघि बढाइनेछ।

भक्तपुरको पहिचान बनेका बिस्का जात्रा तथा मध्यपुर थिमिको बोडेको जिब्रो छेड्ने जात्रालगायतका पर्वलाई पर्यटनसँग जोडेर स्थानीयलाई स्वरोजगारमा आबद्ध गरिने उनले बताए।

थिमि र सूर्यविनायकका पुराना नेवाः बस्तीमा होमस्टे विकास, अडिटोरियम, सङ्ग्रहालय तथा कलात्मक फुडकोर्ट निर्माणका लागि बजेट सुनिश्चित गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे। मध्यपुर थिमिलाई विदेशी पर्यटकको आकर्षक गन्तव्य बनाउन नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रसँग सहकार्य गरिने उनले जानकारी दिए। कृषक पलायन र घट्दो उत्पादनप्रति चिन्ता व्यक्त गर्दै सापकोटाले कृषि नीति सुधार गरी कृषक प्रोत्साहनका कार्यक्रम ल्याइने बताए। मध्यपुर थिमि, नगदेश, सागबारी र चखु क्षेत्रलाई पुनः उपत्यकाको तरकारी केन्द्रका रूपमा विकास गर्न स्थानीय उत्पादनको ब्रान्डिङ, बिक्री केन्द्र स्थापना तथा आधुनिक शीत भण्डार (कोल्ड स्टोरेज) निर्माण गरिने उनको भनाइ छ।

समुदायमा आधारित मौसमी कृषि खरिद केन्द्र सञ्चालन, मल–बिउ–औजारको सहज आपूर्ति तथा तालिम र सिँचाइ सुविधा विस्तार गरिने उनले बताए। परम्परागत खेतीलाई आधुनिकीकरण गर्दै सुविधा सम्पन्न तरकारी बजार स्थापना गर्ने योजना पनि प्रतिबद्धता–पत्रमा समेटिएको छ।

सापकोटाले मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रलाई आईटी तथा डिजिटल उद्यमको केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारे। खाली रहेका सरकारी भवनलाई आईटी वर्कस्टेसन र स्टार्टअप केन्द्रका रूपमा प्रयोग गरिने उनले बताए। प्रत्येक नगरमा ‘टेक ल्याब’ स्थापना, सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा विस्तार तथा रोजगारी सूचना केन्द्र सञ्चालन गरिने उनले जानकारी दिए।

‘स्वावलम्बी युवा, राष्ट्रको शान’ अभियानमार्फत युवा उद्यमशीलता प्रवर्द्धन, महिलाका लागि विशेष स्वरोजगार कार्यक्रम तथा बिनाधितो सहुलियत ऋणको व्यवस्था गर्न संघीय सरकारसँग समन्वय गरिने प्रतिबद्धता जनाइएको छ। त्यस्तै, विश्वप्रसिद्ध नेवारी अयलालाई गुणस्तर मापन गरी ब्रान्डिङ गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरिने योजना पनि उनले सार्वजनिक गरे। मध्यपुर थिमिको माटो तथा काष्ठकलालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन निर्यात केन्द्र स्थापना गरिने तथा आवश्यक कच्चा पदार्थ आपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गरिने उनले बताए।

पत्रकार सम्मेलनमा सापकोटाले संस्कृति, कृषि र प्रविधिको समन्वयमार्फत भक्तपुर क्षेत्र नं–२ लाई रोजगारीमूलक र आत्मनिर्भर निर्वाचन क्षेत्र बनाउने दाबी गरे।

Video:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!