भक्तपुर, १२ फागुन २०८२ः
कृष्ण किसी
भक्तपुर क्षेत्र नं–२ मा स्वतन्त्र उम्मेदवारी दिएका नवीनकुमार महतले यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित रहेको दाबी गरेका छन्।
स्वतन्त्र पत्रकार संघ भक्तपुरले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भक्तपुर क्षेत्र नं–२ मा १८ देखि ४० वर्ष उमेर समूहका मतदाता ५२ प्रतिशत रहेको जानकारी दिँदै युवा मतदाताको झुकाव स्वतन्त्र उम्मेदवारतर्फ हुने दाबी गरे। उनका अनुसार यस क्षेत्रमा करिब १३ प्रतिशत मात्रै संगठित मत रहेको र बाँकी मत स्वतन्त्र उम्मेदवारहरूतर्फ जाने भएकाले आफू विजयी हुने सम्भावना बलियो रहेको छ।
महतले आफू नै वास्तविक स्वतन्त्र उम्मेदवार भएको दाबी गर्दै अन्य स्वतन्त्र उम्मेदवारहरू दलका ‘डमी’ उम्मेदवार भएको आरोप लगाए। तथ्यांकअनुसार यस क्षेत्रमा १७ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। उनका अनुसार तीमध्ये धेरैजसो उम्मेदवार पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग पुर्याउने उद्देश्यले उठाइएका हुन् र निर्वाचन प्रचारप्रसारमा सक्रिय देखिएका छैनन्।
यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलबाट १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। पार्टीका १५ र स्वतन्त्र १७ गरी कुल ३२ जना उम्मेदवार मैदानमा रहेका छन्।
मुख्य प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसबाट कविर राणा, नेकपा एमालेबाट महेश बस्नेत, नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीव खत्री, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा ‘दीपशिखा’, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा तथा उज्यालो नेपाल पार्टीबाट जीतमान लामा लगायत रहेका छन्।
इतिहास हेर्दा भक्तपुर क्षेत्र नं–२ मा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले आलोपालो जित निकाल्दै आएका छन्। २०४८ सालमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो भने २०५१ सालमा नेपाल मजदुर किसान पार्टी विजयी भएको थियो। त्यसपछि २०५६ मा पुनः नेपाली कांग्रेस विजयी भयो। २०७० सालमा नेपाल मजदुर किसान पार्टीले जित हात पारेको थियो भने २०७४ सालमा नेकपा एमालेले एकपटक विजय हासिल गरेको थियो। २०७९ सालको निर्वाचनमा भने नेपाली कांग्रेस पुनः विजयी भएको थियो।
व्यक्तिगत रूपमा २०४८ मा नेपाली कांग्रेसका जग्गनाथ आचार्य, २०५१ मा नेपाल मजदुर किसान पार्टीका आशाकाजी बासुकला, २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति, २०७० मा नेपाली कांग्रेसका रामेश्वर थापा, २०७४ मा एमालेका महेश बस्नेत र २०७९ मा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा निर्वाचित भएका थिए।
भक्तपुर क्षेत्र नं–२ अन्तर्गत मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई नगरपालिका पर्दछन्। मध्यपुर थिमिमा ९ वटा वडा र सूर्यविनायकमा १० वटा वडा गरी कुल १९ वडा रहेका छन्। यस क्षेत्रमा कुल ९८ हजार ३५६ मतदाता रहेका छन्।