मध्यपुर थिमि, १२ फागुन २०८२ः
रत्न काजि प्रजापति
‘Right to Protein: Powering Health, Productivity, and the Future’ नारासहित विश्व प्रोटिन दिवस २०२६ २७ फेब्रुअरीमा मध्यपुर थिमिमा मनाइँदैछ। नेपालको कुखुरा उद्योगको अगुवाइमा USSEC को ‘Right to Protein’ अभियानसँग सहकार्य गर्दै कार्यक्रम आयोजना हुन लागेको हो।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ्को प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा उपप्रमुख बिजय श्रेष्ठ, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्य रहने जनाइएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा Dr. Ashesh Bhattarai (Country Market Lead, USSEC) ले ‘Protein-o-meter’ नामक अन्तरक्रियात्मक टुल प्रस्तुत गर्नेछन्। उक्त टुलमार्फत नेपालीहरूको दैनिक आहारमा प्रोटिनको अवस्था, आवश्यक मात्रा र किफायती स्रोतबारे तथ्याङ्कसहित जानकारी दिइने बताइएको छ।
यस अवसरमा प्रोटिनसम्बन्धी दुई वटा प्यानल छलफल पनि आयोजना गरिनेछ। पहिलो प्यानल प्रोटिनको उपलब्धता, पहुँच र गुणस्तरका विषयमा केन्द्रित हुनेछ, जसमा कुपोषण, बालबालिका तथा महिलामा प्रोटिन आवश्यकता, खाद्य सुरक्षा र जनस्वास्थ्यका आयामहरूबारे छलफल हुनेछ। दोस्रो प्यानल फिटनेस विज्ञ, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूबीच प्रोटिनको आवश्यकता बारे हुनेछ।
आयोजकका अनुसार कार्यक्रमले “हरेक नागरिकको प्रोटिनमा पहुँच” भन्ने सन्देश प्रवाह गर्दै नीति–निर्माता, प्राविधिक र निजी क्षेत्रबीच सहकार्य सुदृढ गर्ने लक्ष्य राखेको छ।