काठमाडौँ ।
औषधि व्यवस्था विभागले न्यून गुणस्तरको Ondatron-4 औषधि बजारबाट तुरुन्त फिर्ता (रिकल) गर्न निर्देशन जारी गरेको छ ।
बजार अनुगमनका क्रममा संकलित नमुनाको राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा Ondatron-4 (Ondansertron 4mg) नामक औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ ।
उक्त औषधिको ONDT2901 ब्याच नम्बर (Mfg: Jul 2025, Exp: Aug 2027) “Assay test” मा IP २०२२ मापदण्डअनुसार नपुगेको पाइएपछि औषधि ऐन, २०३५ बमोजिम बिक्री–वितरण रोक्का गरिएको हो । सो औषधि देउराली जनता फर्मास्युटिकल्स प्रा लि द्वारा उत्पादन गरिएको हो ।
विभागले सम्बन्धित उद्योग र प्रतिनिधिलाई उक्त ब्याचका सबै औषधि तुरुन्त बजारबाट फिर्ता गरी विवरण पेश गर्न निर्देशन दिएको छ । साथै स्वास्थ्यकर्मी, व्यवसायी र सर्वसाधारणलाई उक्त औषधिको सिफारिस, बिक्री तथा प्रयोग नगर्न/नगराउन अनुरोध गरिएको छ ।