काठमाडौँ, ७ वैशाख २०८३ः
प्रधानमन्त्री वालेन्द्र साहले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग समसामयिक समस्या र समाधानका उपायबारे छलफल गर्नुभएको छ ।
सोमबार सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र ७ प्रतिष्ठानका उपकुलपति सहभागी थिए । बैठकमा तत्काल समाधान गर्न सकिने विषयहरूमा पनि विमर्श भएको जनाइएको छ ।
छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका उपकुलपतिहरू सहभागी भएका थिए ।
यस्तै, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिसँग पनि संवाद भएको छ ।
प्रधानमन्त्री साहले नास्ट, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग पनि छलफल गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।