भक्तपुर, ८ वैशाख २०८३:
दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । चैत २६ गतेदेखि सञ्चालन भएको १२ दिने महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले जनाएको छ ।
आयोजक संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा स्थानीय उत्पादन, हस्तकला सामग्री, कृषि उपज तथा विभिन्न व्यापारिक सामग्री आकर्षणका केन्द्र बनेका थिए ।

महोत्सवमा १५० भन्दा बढी स्टल सञ्चालनमा रहेका थिए । ती स्टलमार्फत करिब ३ करोड रुपैयाँभन्दा बढी कारोबार भएको आयोजकको दाबी छ ।
दैनिक रूपमा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो भने बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेलहरू पनि राखिएको थियो, जसले महोत्सवलाई थप आकर्षक बनाएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले यस्ता महोत्सवले स्थानीय बजार प्रवर्द्धन, रोजगारी सिर्जना र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
यसैबीच, महोत्सवअन्तर्गत आयोजित नृत्य प्रतियोगितामा रतिश गिरी प्रथम हुँदै रु. २० हजार, अन्नी तामाङ द्वितीय हुँदै रु. १० हजार र स्प्रीका शाही तृतीय हुँदै रु. ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । रेम्बो तामाङ र रेविका लामाले सान्त्वना पुरस्कारस्वरूप जनही रु. २,५०० प्राप्त गरेका छन् ।
कार्यक्रमकै अवसरमा ‘समय समाज साप्ताहिक’की पत्रकार सिर्जना खतिवडालाई नगद रु. ५ हजारसहित सम्मान गरिएको थियो ।