श्रावण २ को भ्रष्टाचार विरोधी दिवस : ० कृष्ण प्रजापति

आज भन्दा साठी वर्ष अगाडि पंचायती शासनहरुले भूमिसुधार लागू गरेका थिए । भूमि सुधार लागू गरेसंगै किसानहरुले आफ्नो हक अधिकार र जग्गा सुरक्षित गर्नका लागि एउटा बचत संस्था स्थापना गरेका थिए । २०२१ सालमा देशमा भूमि सुधार लागू भएसंगै कतिपय वामपन्थी शक्तिले त्यसको विरोध गरेका थिए । कतिपय वामपन्थी शक्ति र प्रजान्त्रिक शक्ति नेपाली कांग्रेले पनि अन्यौलपूणर् नीति लिएको थियो । यस्तो समयमा एक दूरदर्शी नेता नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती, नारायणी र जनकपुर अञ्चल इन्चार्ज नारायणमान बिजुक्छेँ रोहितले भने पंचायती ब्यवस्थाले लागू गरेका उक्त भूमिसुधार कार्यक्रमलाई किसानको हीतको लागि उपयोग गर्नुभयो । यस क्रममा किसान नेताहरु किसानका खेत खलियानमा पुगी धान काटेर घर भित्रयाइदिने, आफूले जोतेको जमीन आफ्नो नाममा आधि अंश पाउने गरी मोहियानी हक सुरक्षित गर्ने तथा किसानलाई जग्गा धनीको तर्फबाट बाली बुझाउँदा पनि भर्पाई गरिदिएन भने बलजफ्टी झगडा गरेर भएपनि भर्पाई दिलाई दिने काम गर्न थाले ।

यति गरिसकेपछि किसानहरुले संगठित रुपमा आर्थिक संकलन गरी बचत संस्था स्थापना गर्ने कार्य अगाडि बढाएको थियो । यस क्रममा खेतको मालिकसंग तीन माना, जग्गा जोतिरहेको किसानसंग भए छ माना र जग्गा जोत्ने किसानकै खेत भएको खण्डमा प्रति रोपनी नौ माना धानको दरले बचत उठाएको थियो । सो बचत एक वर्ष भित्र फिर्ता गर्ने भनेको थियो । तर हालसम्म पनि त्यो बचत गरेको जिन्सी सामग्री कसैलाई फिर्ता नदिएको खुल्न आएको छ । त्यो भ्रष्टाचार गर्ने कार्य ५५ वर्ष अगाडि भएको थियो । अन्न बचत गर्ने ती सबै बचत कर्ताहरु संस्थाको साधारण सदस्य हुनु पर्ने थियो । तर संस्थामा हालीमुहाली गरेर बसेका केही टाठाबाठाहरुको कारण त्यहाँ भित्र अध्यक्ष रहेका कृष्णभक्त चौगुठी मंगलेचालाई आर्थिक अपचलन गर्ने कार्यमा प्रत्यक्ष संलग्न देखिए । बचत भएको धान, गहुंले चितवन ब्यापार चलाए । उहाँबाट मकै र तोरी ल्याएर ब्यापार गरी नाफा कमाउन थाले । तर त्यसको हिसाव संस्थामा राखिएन । समयमा बचत फिर्ता गर्ने बचन पनि पूरा गरिएन । त्यति मात्रै होइन अरु मान्छेहरु उक्त सञ्चालक समितिमा आउला भन्ने डरले आफू, आफ्नो मान्छेहरु मात्रै बसेर साधारण सभा सम्पन्न भएको नक्कली काम गर्न लगाए । एकातिर सो बचत संस्थाको अधिवेशनको दिन अधिवेशन स्थगीत भयो भनेर खुल्ला रुपमा मञ्चबाट घोषणा गर्न लगाएर आफूहरुले गोप्य तवरले दरवार क्षेत्र भित्र रहेको पशुपति महादेवको पछाडि रहेको बत्सला देवी छेऊ बसेर गोप्य रुपमा यो यो ब्यक्ति निर्वाचित भयो भन्ने कागजमा सही गराउन थाल्यो ।

यस खालको भ्रष्टाचार, अन्याय र अत्याचार सहन नसकेका जागरुक भक्तपुरका साधारण किसानहरु तथा किसान कार्यकर्ताहरु जुरमुरिन थाले । मञ्चमै गएर ती भ्रष्ट ब्यक्तिहरुलाई कठालो समाएर ल्याए । उनलाई उल्टो टोपी लगाएर नगर परिक्रम गराए । त्यसपछि नक्कली माइन्यूड उठाएको पनि थाहा पाएर उक्त माइन्यून किसान कार्यकर्ताहरुले खोसेर लिन सफल भयो । उनलाई उल्टो टोपी लगाइयो । कालो मोसो दलाइयो । अनि भक्तपुर नगर परिक्रमा गराइयो । तर यो घटना प्रत्यक्ष हेरिरहेको स्थानीय प्रशासन र पंचायती ब्यवस्थाले पछि ऊनलाई जिल्ला विकास समितिको निमिति प्रमुख बनाएर पठायो । यो २०२५ साल श्रावण २ गते भएको भ्रष्टाचार विरोधी दिवसको बृत्तान्त हो । भक्तपुरमा अहिले पनि प्रत्येक वर्ष भ्रष्टाचार विरोधी दिवस मनाउने गरेको छ । एक त त्यो बेला बचत उठाएर पनि पछि निश्चित समय भित्र फिर्ता दिन्छु भनेको दिन सकिएन । सो बचत हाल सम्म पनि फिर्ता दिइएको छैन । अर्को कुरो किसानहरुलाई सो बचतबाटै मल ल्याई दिउँला, किटनाशक औषधी समयमै बन्दोबस्त गर्ने र सयममै कृषि औजारको बन्दोबस्त गरिदिने भनेको पनि गरिएन । निश्चित मानिसको भूडी ठूलो पार्ने कार्य बाहेक त्यो संस्थाले अरु गरिएन ।

आज देशमा ललिता निवास, नक्कली भूटानी शरणार्थी समस्या जसरी भ्रष्टाचारको सबै भन्दा ज्वलन्त नमूना भएर उभिएको हो त्यो बेला पनि बचत जम्मा पारेर बचतबाट आवश्यक किसान जनताको हीत गर्ने चीज ल्याउनु भन्दा पनि बचत संस्था भित्र रहेको निश्चित ब्यक्तिहरुलाई मात्रै फाइदा पुग्ने किसिमले राष्टको हीतलाई ध्यानमा नराखी चितवन लगी बचत सामग्री बेचेर त्यहाँबाट तोरी र मकै यहाँ ल्याएर ब्यक्तिगन फाइदा उठाउन थाले । निश्चित ब्यक्तिहरु भने धनी पनि हुन थाले । तर समयमै मल ल्याइ दिएन । त्यति मात्रै होइन फिर्ता दिन्छु भनेको बचत पनि फिर्ता गरिएन । साधारण बचतकर्ताहरुलाई थाहा नदिएर नै बचत संस्थाको साधारण सभा सम्पन्न भयो भनेर छलकपटपूणर् रुपमा माइन्यूट उठाएर जनताको आँखामा छारो हाल्ने काम भयो । यस्ता पाप र भ्रष्टाचारलाई सहन नसकेका कारण किसान जनताका प्रिय नेता र कार्यकर्ताहरु मिलेर मंगलेचा भन्ने कृष्णभक्त चौगुठीलाई जुत्ताको माला लगाएर कालो मोसो दली लगेर पुनः भक्तपुर नगर परिक्रमा गराएर प्रशासनलाई बुझायो ।

२०१५ सालमा देशमा पहिलो पल्ट निर्वाचित विश्वेश्वरप्रसाद कोइरालाले सञ्चालन गरेको प्रजातान्त्रिक सरकारलाई अपदस्त गरी पंचायती ब्यवस्था लाड्यो । पंचायती ब्यवस्थाले त्यसको चार वर्ष पछि भूमि सुधार कार्यक्रम लागू गरेको थियो । त्यो बखत खला खलामा गएर आफूले गरिराखेको जग्गा आफ्नो मोहियानी हक कायम गराउने कार्यमा किसान कार्यकर्ताहरु लागिपरे । त्यस खालको प्रगतिशील कार्यहरुलाई कसरी बिगार्ने भन्ने हेतूले भ्रष्टाचार गर्नको लागि एउटा संस्था नै खोले, नवदुर्गा बहुमुखी सहकारी संस्था । मंगलेचा चौगुठी भन्ने कृष्णभक्त चौगुठी भन्ने ब्यक्ति सो संस्थाको अध्यक्ष थियो । यो संस्थाले राम्रो काम गर्न नसके पछि किसानहरु पानी परेपछि पनि मल नपाएका कारण रोपाई गर्न रोकेर बसिरहनु पर्यो । यो संस्थाले काम गर्न नसकेकै कारण किसानहरु संगठित हुन थाले । अखिल नेपाल किसान संगठनको नामले सञ्चालित संगठनमा किसानहरु आवद्ध हुन थाले । त्यो बेला अखिल नेपाल किसान संघले एक पार्टीले जस्तै काम गर्ने गरेको थियो । नियमहरु राम्रा थिए । यस्तो सक्रिय संस्था आजसम्म रहेको भए ललिता निवासको घटना, नक्कली भूटानी शरणार्थी समस्या जस्ता नयाँ नयाँ भ्रष्टाचारको कुरा आउने थिएन ।

मौका आउँछ पर्खिन्दैन, बगेको खोला फर्किन्दैन भने झैं गरी त्यो बेला हाम्रा बामपन्थी अग्रजहरुले भक्तपुर जिल्लामा जस्तै अन्य जिल्लामा पनि भूमिसुधारलाई लागू गर्न सहयोग गरेको भए भक्तपुरमा जस्तै ८० प्रतिशत किसानहरुले आधि जमिन पाउने बन्दोबस्त हुने थियो । न्याउरी मारी पछुटो भने झैं अहिले अधिकार नपाएर पछुटाउनु परिरहेको छ । तर आज ८० प्रतिशत किसानहरुले आफूले खनी जोती आइरहेको जग्गामा आधि अंश पाउन सकिरहेका छैनन् । भक्तपुर ८० प्रतिशत मोहियानी हक सुरक्षित भएको एक मात्रै जिल्ला हो । यदि भक्तपुरमा पनि आज भन्दा ५५ वर्ष अगाडि यसरी भ्रष्टाचार विरोधी आन्दोलन अगाडि नबढेको भए यहाँ पनि मोहियानी हक कायम नभएर किसानहरु अलपत्रमा पर्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!