आन्दोलनका कार्यक्रम सार्वजनिक
त्रिपुरेश्वर, भाद्र ३, २०८०ः
रत्न काजि प्रजापति
नेपाल सरकारले पशुपंक्षी सँग सम्बन्धित करिब २० निकायहरुको बजेट शुन्यमा पुर्याएको भन्दै पशुपंक्षी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सरकारले २०८० जेष्ठ १५ गते प्रस्तुत गरेको बजेट वक्तव्य मार्फत पशुपंक्षी सँग सम्बन्धित बिभिन्न निकायहरु, पशु क्वारेन्टाइन कार्यालयहरु, पशु रोग अन्वेषण प्रयोगशालाहरु, केन्द्रिय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला,खोरेत तथा सिमा बिहिन पशु रोग अन्वेषण प्रयोगशाला, सार्क क्षेत्रिय सहयोग इकाई कार्यालय, पशु आनुबांशिक स्रोत केन्द्रहरु, राष्ट्रिय दुग्ध विकास वोर्ड लगायतका कार्यालयको बजेट शुन्य अवस्थामा रहेको भन्दै आन्दोलन गर्न बाध्य भएको्ले आन्दोलनको घोषणा गरेका सरोकारवाला हरुले बताएका छन।
नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा.रामकृष्ण खतिवडाले लम्पी स्किन डिजिज, बर्डफ्लु जस्ता संकामक रोगहरु फैलिएको अवस्थामा समेत सरकारले यससँग सम्बन्धित कार्यालयलाई बजेट नै नदिएको बताउनु भयो । उहाँले सरकारले यो विषम समयमा पशुपंक्षी क्षेत्रको आयात निर्यात, पशु रोग नियन्त्रणमा प्रत्यक्ष काम गर्ने पशु सेवा विभागका सरकारी संरचनाहरु खारेजी तथा पुनः संरचना गर्ने नाममा सम्बन्धित सरोकारवालाको राय सुझाव नलिई सुनियोजित ढंगबाट निर्णय गरेको बताउनु भयो । उहाँले किसानहरुको खर्बौको क्षति हुँदापनि पशुपंक्षीको रोग नियन्त्रण र उपचारमा सकृय रुपमा परिचालित हुनुपर्ने निकायहरुमा शुन्य बजेट भई काम नै ठप्प गरी बस्नुपर्ने अवस्थाको सृजना भएको बताउनु भयो । उहाँले पशुपंक्षी क्षेत्रको उत्पादनलाई संकुचित पार्ने र फेरि पनि नेपाललाई दुध माछा, मासु र अण्डाको डम्पिङ साईड बनाई नेपालका पशुपंक्षी उद्योगहरु धरासायी बनाउने कार्य भएको र यसले देशको समग्र अर्थतन्त्र र मानव स्वास्थ्यमा गम्भिर असर परिरहेको बताउनु भयो ।
आन्दोलनको स्वरुप बारे बोल्दै अध्यक्ष डा खतिवडाले भन्नुभयो, भोलि सोमवार र पर्सी मंगलवार पशुसेवासँग सम्बन्धित सम्पूर्ण कार्यरत सेवा प्रदायकहरुले कालोपट्टी बाँधेर सेवा गर्ने सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छौँ । ६ देखि १० गतेसम्म सरकारी निकायबाट प्रदान गरिने आवश्यक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरी पेन डाउन, जुलुस धर्ना र दबाबका कार्यक्रम गर्ने साथै ११ गतेपछि जिम्मेवार निकायका प्रमुखहरुको राजीनामा माग गर्ने, आवश्यक सेवा सहित सम्पूर्ण भेटेरिनरी सेवाहरु (निकासी पैठारीका लागि क्वारेन्टाईन प्रमाणपत्र तथा भेटेरिनरि प्रमाणपत्र जारी बन्द आयात निर्यात सिफारीस बन्द, सरकारी तथा निजी क्षेत्रबाट प्रदान गरीने सम्पूर्ण सेवा बन्द) गर्ने, सिंहदरवार घेराउ तथा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यक्रम सार्वजनिक गरेका छौं । ’

नेपाल दाना उद्योग संघका केन्द्रिय अध्यक्ष रबिन पुरीले सरकारको यस्तो गैर जिम्मेवार निर्णयले आत्मनिर्भर भैसकेको पोल्ट्री ब्यबसायलाई समेत संकटमा पार्ने सक्ने बताउनु भयो। उहाले पंक्षिजन्य संक्रामक रोग बर्डफ्लु लागेको समयमा समेत सरकारले किसानलाई क्षतिपुर्ति दिएको स्मरण गर्नु हुदै सरकारले यथाशिघ्र संबन्धित कार्यालयहरुलाई बजे्ट निकासा गरेर पुर्बबत अबस्थामा फर्कन अनुरोध गर्नु भयो।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधक संघ (नेल्टा) का केन्द्रिय अध्यक्ष जनक रावलले बजेट आएको दिन जेठ १५ गते नेपाली पशुपालकका लागि कालोदिन सावित भएको बताउनु भयो । उहाँले नेपालको पशुपंक्षी क्षेत्रको विकासमा सरकार संवेदनशिल नबनेको बताउनु भयो । रावलले किसानहरु लम्पी स्किन रोगका कारण मारमा पर्दा समेत सरकार मुकदर्शक बनिरहेको बताउनु भयो ।रावलले भन्नुभयो, ‘बजेट आएको दिन जेठ १५ गते नेपाली पशुपालकका लागि कालोदिन सावित भएको छ । त्यो बजेट वक्तव्यका कारणले पशु सेवा क्षेत्रका करिव २० वटा कार्यालयहरु शुन्य बजेटमा झरेको अवस्था छ । लम्पी स्किन डिजिजका कारण देश आक्रान्त छ । किसानहरु मारमा छन् । सरकार मुकदर्शक भएर बसिरहेको छ । हामीले सरकारलाई आग्रह ग¥यौं, यो प्रकृयाले नेपाली पशुपालक किसानको विकास हुँदैन । हामीले यो प्रकृया सच्याउनुपर्छ भनेर सरकारलाई पटकपटक आग्रह ग¥यौं । तर, सरकार कानमा तेल हालेर सुतेको सुत्यै भयो । नेपालको पशुपालन क्षेत्रलाई विकास गर्न सकेनौं भने मुलुक समृद्धीको दिशातर्फ जाँदैन । आन्दोलनमा जान बाध्य भएका छौं । आन्दोलनबाट निस्किने परिणामको पनि सरकार जिम्मेवार हुनुपर्छ । आज हामीले १० गते सम्मको आन्दोलनका कार्यक्रम लिएर आएका छौं ।’

सरकारले खारेजी तथा पुनःसंरचनाको नाममा शुन्य बजेट भएका सम्पूर्ण पशुपंक्षी निकायहरुमा विद्यमान संरचना अनुसार चालु आर्थिक वर्षको बजेट तत्काल व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

पत्रकार सम्मेलन पशुपंक्षीसँग सम्बन्धित १२ संघ सस्थाहरुको आयोजनामा भएको थियो। ति आयोजकहरुमा नेपाल भेटेरिनरी एसोसियसन, नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघ, नेपाल पशुपंक्षी औषधि पैठारीकर्ता संघ, नेपाल दाना उद्योग संघ, नेपाल पारा भेटेरिनरी एण्ड लाईभस्टक एसोसियसन, नेपाल एनिमल साइन्स एसोसियसन, नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ, नेपाल लेयर्स कुखुरापालक संघ, डेरी उद्योग संघ, भेटेरिनरी अभ्यासकर्ता संघ नेपाल,नेपाल ह्याचरी उद्योग संघ र भेटेरीनरी पब्लिक हेल्थ एसोसियसन नेपाल रहेका छन।
कार्यक्रम नेपाल भेटेरिनरी एसोसियसनका केन्द्रिय महासचिब डा केदार सुबेदिले संचालन गरेका थिए।
(प्रेस बिज्ञप्ति सहित)

