इन्डोनेशियामा खोकीको ‘प्राणघातक औषधि’ बनाएको अभियोगमा कम्पनीका प्रमुखलाई जेल सजाय

काठमाडौं, कार्तिक १६, २०८०ः

इन्डोनेशियामा २०० जना बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि उत्पादन गर्ने कम्पनीका प्रमुख र अन्य तीनजना अधिकारीहरूलाई जेल सजाय सुनाइएको छ।उनीहरूलाई दुई वर्षको जेल सजाय तोकिनुका साथै एक अर्ब इन्डोनेशियाली रुपैयाँ जरिवाना पनि गरिएको छ।

आफी फार्मा नाम गरेको उक्त कम्पनीलाई विषालु पदार्थहरूको मात्रा अत्यधिक देखिएको खोकीको झोल औषधि बनाएको अभियोग लगाइएको थियो। सो कम्पनीका वकिलहरूले भनेका छन्- आरोपितहरूले हेलचक्र्याइँ गरेको भन्ने अभियोग अस्वीकार गरेका छन् र उक्त कम्पनीले त्यस्तो सजायकाविरुद्ध पुनरावेदन गर्नेबारे विचार गरिरहेको छ। सरकारी वकिलहरूले आफी फार्माका प्रमुख आरिफ प्रासेट्या हाराहापलाई नौ वर्षको र अन्य प्रतिवादीहरू प्रत्येकलाई सात वर्षको जेल सजायको माग गर्दै मुद्दा दायर गरेका थिए।

औषधि विषालु रासायनिक मिश्रण

इन्डोनेशियाको महान्यायाधिवक्ताका अनुसार उक्त कम्पनीले सन् २०२१ को अक्टोबर र सन् २०२२ को फेब्रुअरी महिनाको बीचमा खोकीको औषधि बनाउन प्रयोग हुने गरेको प्रोपाइलिन ग्लाइकोल रासायनिक पदार्थको दुई खेप प्राप्त गरेको थियो।

ती दुवै खेपका रासायनिक पदार्थमा ९६ प्रतिशत देखि ९९ प्रतिशतसम्मै इथाइलिन ग्लाइकोलको मात्रा रहेको उनले बताएका छन्। ती दुवै रसायन झोल औषधिमा प्रयोग हुने गर्छन्। प्रोपाइलिन ग्लाइकोल विषालु नभएको र औषधि, सौन्दर्य प्रसाधन तथा खानेकुरामा पनि प्रयोग हुने गर्छ। तर इथाइलिन ग्लाइकोल विषालु हुन्छ र त्यो रङ, कलम र ब्रेकको फ्लुइडमा प्रयोग गरिन्छ।

बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!