सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्छन्ः प्रधानमन्त्री प्रचण्ड

धनगढी, मंसिर २२, २०८०ः

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताउनुभएको छ । सुदूरपश्चिम महोत्सवको आज धनगढीमा उद्घाटन गर्नुहुँर्दै उहाँले भन्नुभयो, “हामीले खोजेको समृद्ध संघीय समाजवाद्मदी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु । यसका लागि यहाँहरुको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ ।”

उहाँले आगामी दिनमा सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्न बताउनुहुँदै उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना तयार गर्न आव्हान पनि गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “सोही बमोजिम लगानीका क्षेत्रहरु निर्धारण गर्ने, लगानीको वातावरणका लागि आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने काममा यहाँहरु सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु । संघ सरकारबाट आवश्यक पर्ने सबै सहयोगका लागि मेरो प्रतिबद्धता रहनेछ ।”

उहाँले अहिले आफ्नै मौलिक विशिष्टतामा शासन प्रणाली रहेको उल्लेख गर्दै यसमा आफूहरु सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोका दिनमा केन्द्रीय सरकारसँग पूर्णरुपमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय तहहरु अधिकारसम्पन्न बनेका छन् । त्यसअर्थमा पनि लोकतान्त्रिक गणतन्त्र र त्यसको संघीय स्वरुपको सबैभन्दा बढी महत्व सुदूरपश्चिम र यहाँका जनताले अनुभूति गरेको हुनुपर्छ ।”

हिजो राजा महाराजाहरुको जमानामा, सामन्ती राजतन्त्रको समयमा केही थान सीमित जमिन्दारहरुको मात्रै काठमाडौंसँग पहुँच हुने अवस्थाको अन्त्य भएर अहिले जनताका छोराछोरी प्रदेश र बिभिन्न स्थानीय तहको नेतृत्व गर्न सक्षम बनेका उहाँको धारणा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!