पूँजीवादी ब्यवस्था र भ्रष्टाचार भनेको एउटै सिक्काका दुई पाता जस्तै हुन् । जहाँ पूँजीवादी शासन ब्यवस्थाले राज गरिरहेको हुन्छ । त्यहाँ भ्रष्टाचार पनि घामसंगै देखिने छायाँ झैं सदा पछि पछि लागेर आइरहेकै हुन्छ । आज राणा शासन र पंचायती ब्यवस्थालाई समाप्त पारी देशमा प्रजातन्त्रको नाममा पूँजीवादी ब्यवस्था स्थापना भएको छ । त्यसैले पनि देशमा प्रजातन्त्रको नाममा अराजकता, अन्यौल र टाठाबाथाहरुको राज चालिरहेको छ । गरिब जनतालाई मारेर भ्रष्ट, अनैतिक र जनतामारा प्रशासनिक शासन ब्यवस्था लागू भइरहेको छ । काम गरी खाने सर्वहारा वर्गलाई बिहान के खाने, बेलुकी के लाउने भन्ने खालको समस्याले सदा पिरोलिरहेको छ । धनीमानी र पूँजीवादी ब्यवस्थाका पक्षपोषकहरु भने आज एउटा भवन, भोलि अर्को भवन र पर्सि यति रोपनी वा यति बिगाहा जग्गा जोरजाम कसरी गर्ने भन्ने खालको दौडाहामा लखतरान भइरहेका छन् । आज देशमा पूँजीवादी शासन ब्यवस्था लागू भइरहेको कारण यो सामान्य र कानुनी रुपमा पनि पाच्य झैं भइरहेको छ । यो पूँजीवादको विशेषता नै हो । पूँजीवादी समाजमा पूँजी मालिक र जनता सदा दास भइरहन्छन् ।
यो कुरालाई आमूल परिवर्तन गरी देशमा सर्वहारा वर्गको शासन ब्यवस्था सुरुवात गर्ने लक्ष्यले आज भन्दा तीस वर्ष अगाडि २०५२ सालमा माओवादी जनयुद्ध सुरु गरिएको थियो । तर जनयुद्ध शुरु गरेको शक्ति नै पूँजीवादी सत्तामा चुर्लम्म दुब्न पुगेकाले झन बढी जनताले आर्थिक समस्या झेल्नु परेको छ । देशमा विद्यमान भौतिक संरचनाहरु सरकारी भवन, पुल पुलेसा तथा विद्यालय भवनहरु सबै ध्वस्त पारेर नयाँ संरचना तयार पार्नुको सातो उनीहरु आफै पूँजीवादी सत्ताको मालिक बन्न गएकाले युद्धमा प्रत्यक्ष संलग्न लडाकूहरुदेखि लिएर सर्वसाधारण जनता समेत अलपत्रमा परेका छन् । उनीहरुलाई आज के खाएर दिन बिताउने, भोलि के लाएर बाहिर हिडदुल गर्ने भन्ने समस्याले ग्रष्ट पारिसकेको छ । युद्धको नेतृत्व गरी सत्ता प्राप्त गरेको शक्तिले नै आज मिशन ८४ भन्दै पुनः आफ्नो गुनेको शासन सत्ता प्राप्त गर्न सकिएला कि भनेर पूँजीवादी शासनमा प्रवेश गरेर हिजोको विरासत फर्काउन पाइएला कि भनेर रातौंदिन ठूल ठूला ब्यापारी, उद्योगपति र पूँजीवादीहरुको चाकडी गर्न र निर्वाचनमा आफूहरुलाई नै हिजो जस्तै सहयोग गर्नको लागि अनुनय विनय गरिरहेका छन् ।
नयाँ नेपाल निर्माण गर्ने सोच विचार रहेको बखत नेकपा माओवादी जनयुद्धमा होमेको थियो । पूँजीवादी सरकारले देश र जनताको सेवा सुविधा बढाउन नसकेको निश्कर्ष निकालेर जनयुद्ध सुरु गरेको थियो । तर आज आएर हिजो युद्ध मार्फत् आमूल परिवर्तन गर्ने भनिएको शक्ति गयगुज्रिएको अवस्थामा पुगिसकेको छ । समाजवादी शासन ब्यवस्था सिर्जना गरी तमाम नेपाली जनतालाई खाने लाउने ब्यवस्था गर्ने भनेर लागिपरेको शक्ति आफै गरिब जनतालाई मरेर आफ्नो स्वार्थ पूरा गर्न लागिपरेका छन् । गरिब र निरिह जनताले खान पाओस् कि नपाओस् केही पनि वास्ता नगरी आफूहरु सत्तामा पुगेर सुख सुविधा उपभोग गर्ने जस्ता निहित स्वार्थ पूर्तिमा लागेका छन् । हिजोको क्रान्तिकारी धारमा किया लागिसकेको अवस्था छ । पहिला आफ्नो निहित स्वार्थ पूरा गर्ने र त्यसपछि मात्रै जनतालाई विभिन्न भ्रम छर्ने खालका आश्वासन दिएर भ्रष्ट र नैतिक पतनका गतिविधि खुलस्त गर्ने गरेका छन् । पूँजीवादी शासन ब्यवस्थाको विशेषताको रुपमा देखिएको भ्रष्टाचारमा ब्यवस्थालाई चुर्लुम्मै दुबाउने कार्य गरिरहेका छन् । अनि कसरी सहकारीका ठग, भ्रष्ट र नैतिकता नभएकालाई कारवाही गर्न सकिएला ?
आज भन्दा साठी वर्ष अगाडिदेखि भ्रष्टाचार विरोधी आन्दोलनलाई निरन्तर अगाडि बढाउँदै आइरहेको भक्तपुर नगरमा पनि आज भ्रष्ट ब्यक्तिहरु सत्तामा पुगिरहेका छन् । यो पूँजीवादी ब्यवस्थाको विशेषता नै हो । कुनै बखत भ्रष्ट पंच, त्यसपछि प्रजातन्त्र पुनः बहाली पछि नेपाली कांग्रेस र एमाले हुँदै विभिन्न राजनीतिक पार्टीको मुकुन्दो धारण गरी पुराना पंचहरु आज शासन सत्तामा पुगिसकेका छन् । यो कुनै ब्यवस्था परिवर्तनको उपज होइन । नेपाली जनताको आर्थिक अवस्थामा कुनै पनि खालको परिवर्तन ल्याउने सोच नराखी आफूहरु मात्रै सत्तामा पुग्ने र निकै ठूलो रकम जम्मा गरी सुख सुविधाले आफ्नो जीवन यापन गर्ने उनीहरुको उद्देश्य बनेको छ । नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार गठनको मूल उद्देश्य पनि यस्तै भ्रष्ट सोच भएका मानिसहरुको राजनीतिक पार्टीमा हावी भएकाले सम्भव भएको हो । होइन भने सिद्धान्तहीन एकता भने झैं एउटा पूँजीवादी सोच विचार भएको पार्टी र कम्युनिष्ट नाम राखेर कम्युनिष्ट सिद्धान्त नै छाडेर गइसकेको पार्टीसंग एउटै सत्तामा पुग्न सक्नुको पछाडि अर्को के पो स्वार्थ होला र ? यो पूँजीवादी ब्यवस्था हो । यहाँ जे कार्य गरेतापनि पूँजीवादी शासकहरुको स्वार्थ पूर्ति गर्नको लागि मात्रै हुने हो । त्यसैले यो ब्यवस्था भित्र बसेर सर्वहारा वर्गले सुख, सुविधा र आदर्श जीवन यापत गर्न पाइन्न । यति कुरा बुझ्दा बुझ्दै पनि जनतालाई धोखा दिएर पूँजीपति पार्टीहरुको पछाडि कम्युनिष्ट पार्टीका नेताहरु लागिरहेको भनेको सच्चा कम्युनिष्ट पार्टीको लागि अत्यन्तै लज्यास्पद घटना भएको छ । कही नभएको जात्रा हाडीगाउँमा भने जस्तै नेपालका नेताहरुमा मात्रै यो सम्भव भएको छ ।
नेपाल सरकारका सचिवले नै केही वर्ष अगाडि सिंहदरवार भ्रष्टाचारको अखडा बनेको कुरा सार्वजनिक गर्नु भएको थियो । आज आएर यो कुरा अझ बढी स्पष्ट हुने गरेको छ । त्यसैले पनि कुनै बखत राणाको दरवारको रुपमा बनाइएका ती भवनबाट सार्वभौम संसदलाई मुक्त गर्नु पर्दछ भन्ने आवाज घन्किएपछि बल्ल ६०१ जना संविधानसभाका सदस्य एकै साथ बैठक बस्नु पर्ने भएपछि सदनलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बनेश्वर सारिएको थियो । कमसेकम त्यो कार्यले जनताको रगत पसिना चुहाएर बनाएको राणाहरुको निजी सम्पत्ति उपयोग गर्ने सरकारी कार्यबाट पार लागेको थियो । साथै भष्टाचारको अखडा रहेको सिंहदरवार बाहिर संसद पुगेको छ । तर त्यसो भएर पनि संसद भित्र प्रवेश गरी सत्ता प्राप्तिको लागि पूँजीवादी सरकारमा संलग्न हुने सबै आज भ्रष्ट पंचहरु भन्दा कमी छैनन् । उनीहरु एक पछि अर्को भ्रष्टाचारको घटनामा संलग्न हुने गरेको सार्वजनिक हुने गरेका छन् । त्यसमा पुराना अर्थमन्त्री, पुराना गृहमन्त्रीदेखि पुराना प्रधानमन्त्रीहरुसमेत अछुटो छैन । उनीहरुलाई हाल अख्तियार दुरुपयोग गरेको आरोपमा विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्तर्राष्ट्रिय अदालतमा समेत धाउनु पर्ने अवस्था सिर्जना हुन गइरहेको छ । त्यसले गर्दा कतिपयले सत्ता छाड्नु परिरहेको छ । कतिपयलाई सत्तामा पुग्नु परिरहेको छ । यसरी पूँजीवादी ब्यवस्थाको मूल विशेषताको रुपमा रहेको भ्रष्टाचारालाई उन्मुलन गर्नको लागि भने हामीले जनस्तरबाट निरन्तर रुपमा विशेष कार्यक्रमहरु गरिरहनु पर्दछ ।
आज भन्दा साठी वर्ष अगाडि भ्रष्ट ब्यक्तिहरुलाई उल्टो टोपी लगाएर नगर परिक्रमा गराउनेदेखि लिएर जुत्ताको माला लगाएर नगर परिक्रमा गर्न लगाउने जस्तो क्रान्तिकारी पाइलो चलाएको भक्तपुर नगरबाट देशले त्यस खालको भ्रष्टाचारीहरुको विरुद्ध आवाज घन्काएको अनुकरणीय कार्यको सराहना गर्न सक्नु पर्दछ । बचत संस्थाको रकम दुरुपयोग गरी निजी सम्पत्ति जम्मा पार्ने गरेका त्यो बेलाका भ्रष्टाचार विरोधी आन्दोलनहरुलाई सदा नेपाली जनताले स्मरण गरिरहनु पर्दछ ।