काम गर्ने कालु मकै खाने भालु भने जस्तै विगतमा अखिल नेपाल किसान संघले गरेको किसान संघर्षबाट अहिलेका राजनीतिक पार्टीहरुले ब्याज खाइरहेका छन् । आज भन्दा साठी वर्ष अगाडि जुन बेला पंचायती ब्यवस्थाले जरो गाँढेको थियो । भक्तपुर, चितवन, नवलपरासी लगायतका किसान आन्दोलन अगाडि बढेका जिल्लाहरुमा अखिल नेपाल किसान संघ सक्रिय थियो । तराई क्षेत्रमा किसानहरु जमिन्दारबाट अधिक रुपमा पीडित भएका कारण गौरदेखि रौटहतसम्मका किसानहरुले जमिन्दार विरुद्ध हतियार उठाएर पनि आन्दोलन गरेका थिए । अझ त्यो बेलाको किसान आन्दोलन यति धेरै अगाडि बढेको थियो कि जमिन जोत्नेको गर्नको लागि हतियार नै उठाएर सबै जमिन्दारहरुलाई सखाप पार्ने र जमिन सबै किसानहरुले खाने उद्देश्य लिएर अखिल नेपाल किसान संघले ठाउँ ठाउँमा आगजनी र हत्या हिंसाको अभियान नै चलाएको थियो ।
किसानहरु आफ्नो मालिकको खेतका दिनरात काम गरे तापनि आफ्नो परिवार पाल्न र आफ्नै जीवन धान्न पनि मुश्किल थिए । खाने, बस्ने राम्रो बन्दोबस्त थिएन । जमिन्दार कै सानो छाप्रोमा उनीहरुलाई गोठाले बनाएर राखेको हुन्थ्यो । जीवनभर ऋण लिएको ब्याज र सावा तिर्दा पनि उनीहरुले त्यो कहिल्यै चुक्ता हुने गरी तिर्न सकिन्दैनथ्यो । त्यो बेलाको सामन्ती ब्यवस्थाले गर्दा धनीमानीहरुको काम गर्ने र एक छाक खाने मात्रै किसानहरुको काम थियो । त्यसैले पनि अखिल नेपाल किसान संघको स्थापनाले जमिन्दारहरु डराए । किसानहरुलाई हुने नहुने आरोप लगाएर जेल हाले । कतिपय अखिल नेपाल किसान संघका भूमिगत नेता भारततिर भाग्न बाध्य भए । कतिपय भूमिगत पनि भए । हत्या हिंसाको श्रृखला नै चलेपछि भने केन्द्रीय सरकारले आफ्नो राज्यस्तरको बल प्रयोग गरी किसान आन्दोलनलाई दबाइयो । रौटहत त्यो ताका नै अति संवेदनशील रुपमा बिद्रोहमा उत्रेको जिल्ला थियो । नेपाल सरकारले नलेखे पनि वास्तविक किसान आन्दोलनको इतिहास भने त्यही थियो ।
अखिल नेपाल किसान संघले साठी वर्ष अगाडि गरेको संघर्षको इतिहास अत्यन्तै गर्विलो थियो । त्यसको सिको गर्दै कम्युनिष्ट पार्टीले नेपाली जनतालाई एकजुत गर्ने अभियान सुरु गरेपछि बल्ल २०४६ साल चैत २६ गते देशमा बहुदलीय प्रजातान्त्रिक ब्यवस्थाको पुनःस्थापना भएको थियो । त्यो इतिहास भने किसान आन्दोलनबाट सुरुवात हुने गरेको छ । अरु मामला छाडेर किसानहरु आफूले कमाएको धानबाली आफ्नो घर भित्रयाउने तरखर गर्थे । तर किसानहरुको विरुद्ध जमिन्दार र राज्य सरकार लागेका कारण २०२१ सालमा पंचायती ब्यवस्थाले दिएको मोहियानी हक र भूमिसुधार कार्यक्रम पनि त्यति प्रभावकारी रुपमा लागू हुन सकेन । सस्तो नाराको रुपमा त्यो बेला जमिन जोत्नेको भन्ने लागू गरेको थियो । किसान आफै सचेत नभएकाले कतिपय जिल्लाहरुमा भूमिसुधार प्रभावकारी नभएको हो । जमिन जोत्नेले आधि पाउने कार्य भने कयौं जिल्लामा भए ।
किसान आन्दोलनबाट अहिलेका युवा, विद्यार्थी र महिलाहरु पनि प्रभावित भएका थिए । त्यो अखिल नेपाल किसान संघको योगदान थियो । अखिल नेपाल किसान संघ जस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, अखिल नेपाल महिला संघ राजनीतिक रुपमा अगाडि देखा परेपछि भने राजनीतिक आन्दोलन अगाडि बढ्न सम्भव भएको हो । कतिपय नेता भूमिगत रहेर पनि किसान आन्दोलन अगाडि बढे । किसान आन्दोलनबाट पछि राजनीति आन्दोलन अगाडि बढ्नको लागि फाइदा पनि भयो । यति धेरै मेहनत गरेर जमिन्दारहरुको विरुद्ध उर्लिएको पंचायती ब्यवस्था विरुद्ध आन्दोलन अगाडि बढेको कारण नेपालमा पंचायती ब्यवस्थाको समूल नष्ट भएको थियो । त्यो श्रेय भने पहिला किसान आन्दोलन अगाडि बढ्नको लागि गरेको किसान आन्दोलन र राजनीतिक चेतना दिने अभियानलाई नै लिनु पर्दछ । नेपाली जनताको भाग्य निर्माण गर्ने कार्य नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको चालिस वर्ष पछि मात्रै भएको भए तापनि उनीहरुले पंचायती कालमै गरेको गतिविधिहरुलाई पनि कम आंकलन गर्न मिल्दैन ।
नेपाली जनताको आन्दोलनबाट राजदरवार डराएर २०४६ सालमा प्रजातन्त्र पुनः बहाली भयो । त्यसपछि बल्ल किसानहरु पनि आफ्नो अधिकार सुरक्षित गर्न लागी परे । किसान आन्दोलन, महिला मुक्तिको आन्दोलन आदि राजनीतिक आन्दोलनको सफलता पछि मात्रै सम्भव हुने गर्दछ । त्यसैले किसान आन्दोलनबाट सुरु भएको नेपालको प्रजातान्त्रिक आन्दोलन अहिले राजनीतिक आन्दोलनको सफलता पछि बल्ल पूरा भयो । अखिल नेपाल किसान संघले त्यो बेला सीधै जनताको घर घर गएर बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन र साँधे धपाउने आन्दोलन नगरेको भए अहिले किसानहरु आधि जमिन आफूले गर्न पाउने थिएन । जहाँ जहाँ सबै किसानहरु एकजुत भएर अखिल नेपाल किसान संघको नेतृत्वमा भएको आन्दोलनमा सरिक भए त्यो त्यो ठाउँका जनताले जमिन जोतिरहेकोबाट केही भाग आफ्नो नाममा राख्न पाएका छन् । भक्तपुर जिल्लामा ८० प्रतिशत किसानहरु आफूले कमाई आएको जमिन आफ्नो नाममा राख्न पाउने गरी किसान आन्दोलनमा लागेका थिए ।
अखिल नेपाल किसान संघका संस्थापकहरु र त्यो बेलाका भक्तपुरका अखिल नेपाल किसान संघका अगुवाहरु श्रीबहादुर प्रजापति, कृष्णभक्त चौगुठी, रामप्रसद चाँद, विकुुलाल भैलःहरुको योगदानलाई इतिहासमा कम मूल्यांकन गर्न मिल्दैन । उनीहरुले किसान जनतालाई सचेत, संगठित र एकतावद्ध पारेर गरेको आन्दोलनको कारण आज ख्वप कलेज, ख्वप इन्जिनियरिङ्ग कलेजमा भक्तपुरका किसानका सन्तानहरुले पढ्ने अवसर पाएर थुप्रै किसानका सन्तानहरुले डाक्टर र इन्जिनियर भएर देशको सेवा गर्ने अवसर पाएका छन् । अखिल नेपाल किसान संघले साठी वर्ष अगाडि गरेको योगदान आजसम्म नयाँ पुस्ताले उपभोग गर्न पाइरहेका छन् । त्यो चानचुने उपलब्धी होइन । आज भक्तपुर नगरपालिकाले किसान आन्दोलन अगाडि बढाएकै कारण ख्वप विश्वविद्यालय सम्मको प्रस्ताव अगाडि सार्न सफल भएको छ । भूमिगत किसान आन्दोलन अगाडि बढाउन त्यो बेला मरी मेट्ने गरेका अखिल नेपाल किसान संघका अगुवाहरुको कारण हाल जग्गा जमीनको भाऊ बढेर किसानहरु धनी छन् ।
सिद्धान्त र राजनीतिको कुराहरु भन्दा पनि किसानहरुलाई त्यो बेला आफूले जोत्दै आएको जमीनमा आफ्नो पनि आधि अंश दावी गर्न पाउने भनेपछि अखिल नेपाल किसान संघको नेतृत्वमा भएको आन्दोलनमा सरिक भएका थिए । त्यो एक समयको इतिहास थियो । अखिल नेपाल किसान संघ सक्रिय नभएको भए अहिले पनि भूमिसुधार सही रुपमा लागू हुने थिएन । जमिनमा हक जमाएर सदा किसानको सुख सुविधा पाउनको लागि त्यो बेला भएको आन्दोलनालाई कदापी अबमूल्यन गर्नु हुन्न ।