भक्तपुर, २ जेठ २०८३ः
भक्तपुरको कमलविनायकमा करिब ४ करोड ५० लाख रुपैयाँको लगानीमा प्रिमियम फिटनेस तथा वेलनेस केन्द्र ‘डाक्टर जिम’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। जिमसँगै डाक्टर वेलनेस, डाक्टर कफी र डाक्टर सलुन समेत एकै परिसरमा शुभारम्भ गरिएको हो।
स्वास्थ्य, फिटनेस र समग्र जीवनशैली सुधारलाई केन्द्रमा राखेर स्थापना गरिएको यस केन्द्रले भक्तपुरमा आधुनिक फिटनेस संस्कृतिलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको सञ्चालक पक्षले जनाएको छ।
कमलविनायकस्थित ‘डाक्टर जिम’को उद्घाटन बालबालिका सान्बी जोशी, बिबान दुवाल, रेबिशा दुवाल, प्रशिश दुवाल र आयान दुवालले संयुक्त रूपमा गरेका थिए। परम्परागत शैलीभन्दा फरक ढंगले बालबालिकाबाट उद्घाटन गरिनुले नयाँ पुस्तालाई स्वास्थ्य र फिटनेसप्रति प्रेरित गर्ने सन्देश दिएको छ।
डाक्टर जिमका सञ्चालकहरुमा विकास दुवाल, प्रबिन सुवाल, चिरण प्रसाद जोशी र रवि सैजु रहेका छन्। भक्तपुरमै प्रिमियम स्तरको फिटनेस, रिकभरी र वेलनेस सेवा उपलब्ध गराउने उद्देश्यसहित केन्द्र स्थापना गरिएको उनीहरूको भनाइ छ।
केन्द्रमा आधुनिक जिम उपकरण, कार्डियो तथा स्ट्रेन्थ ट्रेनिङ क्षेत्र, फङ्सनल ट्रेनिङ जोन, एरोबिक तथा समूह कक्षा, साउना, स्टिम, ज्याकुजी, स्पा तथा वेलनेस रुम, फिजियोथेरापी सेवा, व्यक्तिगत प्रशिक्षक, लकर तथा सावर सुविधा, इन–हाउस क्याफे र पर्याप्त पार्किङ व्यवस्था रहेको जनाइएको छ।
त्यसैगरी, व्यक्तिगत फिटनेस लक्ष्य अनुसार पर्सनल ट्रेनर सेवा, फङ्सनल तथा एरोबिक विशेष कक्षा र शरीरलाई आराम, तनाव न्यूनीकरण तथा पुनर्ताजगीमा सहयोग पुग्ने रिकभरी एन्ड वेलनेस सेवा पनि सञ्चालन गरिनेछ।
बिहान ६ बजेदेखि राति १० बजेसम्म खुला रहने डाक्टर जिमले “Your Prescription to Strength & Wellness” नारासहित भक्तपुरमा फिटनेस, रिकभरी र वेलनेसलाई एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।