चितवन/रत्न काजि प्रजापति। नेपाल कुखुरा पालक किसान संघ र राष्ट्रिय आन्दोलन संघर्ष समितिको संयुक्त बैठकले पोल्ट्री किसानका हकहित संरक्षण तथा माग सम्बोधनका लागि आगामी मंसिर १५ गते काठमाडौंमा बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ।
चितवनमा बसेको संयुक्त बैठकले पोल्ट्री क्षेत्रमा आबद्ध किसानका समस्या समाधान, दाना, चल्ला, कुखुरा र अण्डाको उचित मूल्य निर्धारण तथा बिचौलिया प्रथाको अन्त्य गर्न सरकार र सम्बन्धित नियमनकारी निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आन्दोलन गर्ने निर्णय गरेको हो।
बैठकले पोल्ट्री किसानका हकहितको रक्षा गर्न, किसानका मागलाई संगठित रूपमा अघि बढाउन तथा नियमनकारी निकायसँग समन्वय प्रभावकारी बनाउन सर्वसम्मतिबाट ‘पोल्ट्री किसान हकहित संघर्ष तथा समन्वय समिति’ गठन गरेको छ।
समितिको विशेष सल्लाहकारमा झनक प्रसाद पौडेल चयन भएका छन्। समितिको संयोजकमा भीमसेन राउत, सहसंयोजकमा राधेश्याम शाह र सचिवमा सन्तोष अधिकारी चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा सुदेश कुमार गुप्ता, सुनील रेग्मी, शम्भु चौधरी, मदन बराल र महेन्द्र पौडेल रहेका छन्।
बैठकले पोल्ट्री किसानका माग सम्बोधन गराउन तथा सम्बन्धित निकायलाई जिम्मेवार बनाउन आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णयसमेत गरेको छ। मंसिर १५ गते काठमाडौंमा आयोजना हुने भनिएको आन्दोलनमार्फत किसानका समस्या र माग सरकारसमक्ष पुर्याउने तयारी गरिएको छ।