नवप्रवर्तन र उद्यमशीलता केन्द्रित सम्मेलन भक्तपुरमा: प्यानल डिस्कसन मुख्य आकर्षण

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गतको युवा उद्यमी उपसमितिको आयोजनामा “स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन २०८३” जेठ ३ गते भक्तपुरको सूर्यविनायकस्थित क्लब वागमतीमा हुने भएको छ ।

वागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरको सहयोगमा आयोजना हुने सम्मेलनमा मुख्य आकर्षणका रूपमा प्यानल डिस्कसन रहने आयोजकले जनाएको छ ।

उक्त प्यानल डिस्कसनको विषय “You Had to Build from Zero in Nepal Today, Which Sector Would You Bet On, and Why?” रहनेछ, जसमा नेपालमा शून्यबाट व्यवसाय सुरु गर्दा कुन क्षेत्रमा सम्भावना बढी छ भन्ने विषयमा गहन छलफल हुने बताइएको छ ।

प्यानलमा उद्यमी तथा विज्ञ वक्ताहरू सुवास शर्मा, विनायक शाह, डा. प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ र बलराम सञ्जेल सहभागी हुनेछन् भने कार्यक्रमको सहजीकरण पुर्ब मिस नेपाल सुगारिका केसीले गर्ने छिन् ।

आयोजकका अनुसार उक्त छलफलमा नेपालमा स्टार्टअप वातावरण, लगानीको अवस्था, नीति चुनौती, तथा नवप्रवर्तनमैत्री इकोसिस्टम निर्माणका विषयमा विचार आदानप्रदान हुनेछ ।

सम्मेलनमा फाउन्डर स्टोरी सेसन, स्टार्टअप प्रदर्शनी तथा पिच डेक सेसनसमेत आयोजना हुनेछन् । पिच डेक सेसनमा छनोट भएका उद्यमीहरूले आफ्ना व्यवसायिक अवधारणा विज्ञहरूको प्यानलसमक्ष प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा उद्यमी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकले सम्मेलनले नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीमैत्री वातावरण विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!