काठमाडौं । नेपाल औषधि व्यवसायी संघले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको उत्पादन, आयात तथा दर्तासम्बन्धी नियामकीय निर्णयलाई लिएर फैलिएका भ्रममा नपर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
संघका महासचिव शुभ मान श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिता सुनिश्चित गर्न लागू गरिएका नियामकीय व्यवस्थालाई जिम्मेवार ढंगले बुझ्न तथा यस विषयमा तथ्यपरक सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ।
इम्युनोसप्रेसेन्ट औषधि विशेषगरी अंग प्रत्यारोपणपछि प्रत्यारोपित अंगलाई शरीरले अस्वीकार गर्न नदिन तथा केही स्वप्रतिरक्षा रोगको उपचारमा प्रयोग गरिन्छ। यस्ता औषधि प्रयोग गरिरहेका बिरामीको उपचारमा निरन्तरता र नियमित आपूर्ति महत्त्वपूर्ण हुने भएकाले औषधिसम्बन्धी निर्णय र त्यसको प्रभावबारे स्पष्ट जानकारी दिन आवश्यक रहेको संघले जनाएको छ।
संघले औषधिको गुणस्तर र सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै बिरामीलाई आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउने विषयमा सम्बन्धित सरकारी निकाय, औषधि उत्पादक, आयातकर्ता, व्यवसायी तथा स्वास्थ्यकर्मीबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।
औषधिसम्बन्धी संवेदनशील विषयमा अपुष्ट सूचना सम्प्रेषण गर्दा बिरामी तथा सर्वसाधारणमा अनावश्यक त्रास सिर्जना हुन सक्ने भएकाले आधिकारिक सूचना र तथ्यका आधारमा मात्र धारणा बनाउन संघले आग्रह गरेको छ।
संघले बिरामीको स्वास्थ्य र उपचारलाई प्राथमिकतामा राख्दै औषधिको गुणस्तर, सुरक्षित प्रयोग तथा सहज उपलब्धताका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।