काठमाडौं । मत्स्य तथा जलचर कृषि क्षेत्रको दिगो विकास, युवा सहभागिता, सुशासन र लगानीका विषयमा केन्द्रित अन्तर्राष्ट्रिय संवादमा नेपालले आफ्नो दृष्टिकोण प्रस्तुत गरेको छ।
‘परामर्शदेखि कार्यान्वयनसम्म : मत्स्य तथा जलचर कृषि क्षेत्रको सुशासनको भविष्य निर्माणमा युवाको भूमिका’ विषयक प्यानल छलफलमा नेपालका कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी सहभागी हुँदै नेपालको धारणा प्रस्तुत गरेकी हुन्।
छलफलमा मत्स्य तथा जलचर कृषि क्षेत्रको शासन प्रणालीलाई प्रभावकारी बनाउने, नीतिगत प्रक्रियामा युवाको सहभागिता बढाउने तथा दिगो जलीय खाद्य प्रणालीको विकासका लागि लगानी प्रवर्द्धन गर्ने विषयमा विमर्श गरिएको थियो।
सत्रको सुरुवात संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का सहायक महानिर्देशक तथा मत्स्य तथा जलचर कृषि विभागका निर्देशक म्यानुएल बाराङ्गेको मन्तव्यबाट भएको थियो। उनले संवादमा उठेका विषयलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने व्यापक महत्त्वलाई जोड दिएका थिए।
मत्स्य तथा जलचर कृषि क्षेत्रलाई दिगो, समावेशी र उत्पादनमुखी बनाउन नीतिगत छलफललाई व्यावहारिक कार्यमा रूपान्तरण गर्नु, युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु तथा आवश्यक लगानी परिचालन गर्नु छलफलका प्रमुख विषय थिए।
PC: FAO