स्वतन्त्र पत्रकार संघ भक्तपुरको आयोजनामा दसैँको मौलिकता र ऐतिहासिक पहिचानबारे भक्तपुरमा अन्तरक्रिया

भक्तपुर । दसैँको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गर्दै भक्तपुरमा ‘दसैँ के हो र कसरी मनाउने ?’ विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

स्वतन्त्र पत्रकार संघ भक्तपुरको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, संघका संस्थापक अध्यक्ष डा. इन्दुल केसीले दसैँको मौलिकता, ऐतिहासिक पृष्ठभूमि र सामाजिक महत्वबारे धारणा राखेका थिए।

कार्यक्रममा संस्कृतिविद् श्रेष्ठले दसैँलाई टीका, जमरा, खानपिन र पारिवारिक भेटघाटमा मात्र सीमित नगरी यसको ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई बुझेर मनाउनुपर्नेमा जोड दिए। उनले दसैँलाई हिन्दू धर्मावलम्बीको पर्वका रूपमा मात्र नभई नेपालको ऐतिहासिक, सांस्कृतिक तथा राष्ट्रिय पहिचानसँग जोडिएको पर्वका रूपमा बुझ्नुपर्ने बताए।

श्रेष्ठले दसैँ भारतबाट आएको पर्व हो भन्ने मान्यतामाथि प्रश्न उठाउँदै यसको ऐतिहासिक पृष्ठभूमि र नेपाली समाजमा विकसित मौलिक परम्पराको अध्ययन आवश्यक रहेको धारणा राखे। उनले दसैँलाई करिब दुई हजार वर्ष पुरानो संस्कृतिका रूपमा व्याख्या गर्दै यसको इतिहास बुझ्न धार्मिक मान्यतासँगै समाजको सांस्कृतिक विकासक्रमको समेत अध्ययन गर्नुपर्ने बताए।

उनले दसैँको ऐतिहासिक पक्षलाई राज्य र राष्ट्रिय सुरक्षासँग जोडेर हेर्नुपर्ने धारणा राख्दै संस्कृति समाजको पहिचान र निरन्तरताको आधार भएको उल्लेख गरे। नयाँ पुस्तालाई दसैँको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक अर्थ र परम्पराबारे जानकारी गराउनु आवश्यक रहेको उनको भनाइ थियो।

संघका संस्थापक अध्यक्ष डा. केसीले दसैँजस्ता चाडपर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले चाडपर्वका नाममा हुने विकृति र विसंगतिलाई निरुत्साहित गर्दै मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए।

संघका केन्द्रीय सदस्य प्रेमध्वज लामाले दसैँको सांस्कृतिक महत्व, सामाजिक सद्भाव र परम्पराको निरन्तरताबारे धारणा राखेका थिए। कार्यक्रममा संघका जिल्ला अध्यक्ष रेणु त्वानाबासु, नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति सुन्दर शिल्पकार, प्रेस सेन्टर नेपाल भक्तपुरका अध्यक्ष मदन ढुंगाना, नेवा पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ (गोपाल), स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य सुरेश सैंजू, उपाध्यक्ष मणिराम लामिछाने, सहसचिव राजन कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा दसैँ मनाउने परम्परा, यसको बदलिँदो स्वरूप र नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले एकअर्कालाई दसैँको शुभकामना व्यक्त गरेका थिए।

दसैँको ऐतिहासिकता र विकासक्रमबारे विभिन्न व्याख्या पाइन्छन्। इतिहासकार महेशराज पन्तले नेपालमा दसैँ मनाइएको लिखित प्रमाण कम्तीमा सन् १३७५ सम्म पछ्याउन सकिने उल्लेख गरेका छन्। यसले दसैँको इतिहास अध्ययन गर्दा धार्मिक मान्यता, मौखिक परम्परा, अभिलेख र लिखित प्रमाणको छुट्टाछुट्टै विश्लेषण आवश्यक रहेको देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!