सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले जितेको छ। फाइनलमा वडा नं. ९ नङ्खेललाई ३–१ गोल अन्तरले पराजित गर्दै चित्तपोलले उपाधि जितेको हो।

सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा वडा नं. ४ दधिकोट तेस्रो भएको छ। तेस्रो स्थानका लागि भएको खेलमा दधिकोटले वडा नं. ८ सिपाडोललाई ४–१ गोल अन्तरले पराजित गरेको थियो। प्रतियोगितामा सिपाडोलले सान्त्वना स्थान हासिल गरेको छ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ वडा नं. १० का युग देउजा उत्कृष्ट खेलाडी घोषित भए। सोही वडाका रोजित खत्री सर्वाधिक गोलकर्ता र अश्विन देउजा उत्कृष्ट गोलकिपर बने। उपविजेता वडा नं. ९ का प्रशिक्षक दिपेश खत्री उत्कृष्ट प्रशिक्षक घोषित भए।

नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा प्रमुख अतिथि तथा नेपाल जिम्नास्टिक सङ्घका उपाध्यक्ष बचन देउजा विशेष अतिथिका रूपमा सहभागी थिए।

समारोहमा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्य, खेलकुदप्रेमी, स्थानीय बासिन्दा र सञ्चारकर्मीहरूको उपस्थिति थियो। कार्यक्रममा विजेता टोली, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!