आदिवासी अधिकारको सवाल: ० कृष्ण प्रजापति

विश्व आदिवासी दिवस हालै विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । विश्वमा आदिवासी जनजातिहरुको हक अधिकार सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाइएको हो । संयुक्त राष्ट संघले आदिवासीहरुको अधिकार सुनिश्चित गर्नका लागि विभिन्न अभिसन्धीहरु घोषणा गरेका छन् । त्यो अधिसन्धीलाई पालना गर्छु भनेर विश्वका धेरै देशहरुले राष्ट संघको सदस्यता लिनुका साथै ती अभिसन्धीहरुमा हस्ताक्षर गरिसकेको अवस्था छ । नेपालमा पनि देशमा गणतन्त्र आइसकेपछि नेपाल सरकारले आदिवासीको अधिकार सुनिश्चित गर्ने अन्तर्राष्टिय अभिसन्धीमा हस्ताक्षेर गरिसकेको छ । यसले सो अभिसन्धी पालना गर्न पनि अब नेपाल सरकार बाध्य भएको छ । अन्तर्राष्टिय अभिसन्धी भनेपछि ती हस्ताक्षर गरेका देशहरुले अन्तर्राष्टिय ती नियमहरुलाई आफ्नो देशको कानून सरह नै लागू गर्नु पर्ने हुनजान्छ । होइन भने त्यो अभिसन्धीमा सही गरेको पनि कुनै अर्थ रहन्न ।
त्यो अभिसन्धी अनुसार स्थानीय जल, जमीन र जंगलमा पहिलो अधिकार स्थानीय आदिवासीहरुको हुने गर्दछ । सो स्थानमा आदिवासीको रुपमा पहिलादेखि जो बस्दै आएको हो उनीहरुसंग केही नसोधिकन वा उनीहरुको स्वीकृति विना त्यहाँ बाटोघाटो, उद्योग धन्दा, कलकारखाना वा कुनै पनि विकास निर्माणका कार्यहरु गर्न पाइन्न । आदिवासी अधिकारलाई प्राथमिकतामा राखेर विश्वब्यापी रुपमै लागू हुने गरी त्यो अभिसन्धी तयार पारेको हो । तर विश्वका साम्राज्यवादी देशहरुले त्यो कुरालाई पालना नगरी आदिवासीहरु उठिबास हुने गरी आणविक भट्टि, बम कारखाना, ठूल ठूला उद्योग तथा अन्य विकास निर्माणका कार्यहरु अगाडि बढाइरहेको पाइन्छ । यसबाट आदिवासीहरुको अन्तर्राष्टिय अधिकार हनन् भएको छ नै त्यसबाट सवै जाति जनजातिहरुलाई पनि बिस्थापित गर्ने कार्यहरु भएका छन् । अमेरिकाको आदिवासी रेड इण्डियन जाति अब खोज्नु पर्ने अवस्था छ । त्यो देशमा आदिवासीको रुपमा पहिलेदेखि बस्दै आएका रेड इण्डियन भन्ने जाति लोपोन्मुख अवस्थामा पुगिसकेको छ । यदि उनीहरुको संरक्षण गरिएन भने अमेरिकामा रेड इण्डियन पनि थिए रे भन्नु पर्ने स्थिति हुन्छ ।
यसरी आदिवासी अधिकारको कुरा गर्दा नेपालमा पनि नेवार, मगर, तामाङ जस्ता आदिवासी जनजातिहरु पहिलादेखि आफ्नो थात थलो बनाएर बस्दै आइरहेका छन् । काठमाडौं उपत्यकाको रैथाने आदिवासी भनेको नेवार समुदाय हो । त्यो अत्यन्तै शिक्षित, सुसंस्कृत र सभ्य जनजाति पनि हो । बन्द ब्यापारको लागि देशभर छरिएर मुख्य मुख्य शहर कब्जा गरी बस्ने गरेका ती आदिवासी नेवार समुदाय पनि अहिले आफ्नो थात थालेबाट बिस्थापित हुने अवस्थामा पुगिसकेका छन् । उपत्यकामा प्राय ७७ वटै बाहिरी जिल्लाका मानिसहरुले सुख सुविधा भोग्ने उद्देश्यका साथ यहाँ बसोबास गर्न विभिन्न जातिका मानिसहरु पुगेका छन् । त्यसमा पनि बढी जसो राज्यको पहुँच भएको बाहुन क्षेत्रीहरु उपत्यका छिरेको पाइन्छ । त्यसमा पनि राज्य सत्ताको पहुँच भएका गैर आदिवासीहरुको कारण यहाँ रैथाने आदिवासीले मनाउँदै आएका जात्रा पर्व र संस्कृतिमा समेत धाबा बोल्ने काम भइरहेको छ । कुमारी जात्रा बिस्थापित गर्न खोजिँदैछ ।
अहिले पनि कूल नेवारहरुको जनसंख्याको ५२ प्रतिशत काठमाडौं उपत्यका भित्र नै बसोबास गर्ने गरेका छन् । नेवारको जनगणना लिने गणकहरु गैर नेवार भएकाले कतिपय स्थानमा नेवारहरुको जनगणना पनि मिलेको छैन । त्यसमा पनि नेवारहरुले समेत नेवार भाषा नबोल्ने भएकाले भाषाको आधारमा जाति छुट्याउने गरेकाले पनि उनीहरु अन्य भाषाभाषिमा पर्न गएको ज्वलन्त उदाहरणहरु हाम्रा सामु धेरै छन् । जनगणनाको बेलामा आदिवासी जनजातिहरु चलाक हुन नसक्दा आफ्नो क्षेत्रमा पनि अरुहरुले स्थान ओगट्न थालेको अहिले आएर महसुस गर्ने गरेको छ । जनगणना नै दश वर्षसम्मको लागि योजना र विकास निर्माणको बखतको लागि आधार हुने भएकाले घरमा कति जनाको परिवारलाई साँझ बेलुकीको खानेकुरा पकाउने हो भन्ने कुरा सोही अनुसार निर्धारण गरेझैं सरकारले पनि सोही जनगणनाको आधारमा नै विकास निर्माण र नयाँ आयोजना बनाएको हुन्छ । यस्तो बखत आदिवासीहरुको सही तथ्यांक आएन भने उनीहरुको निम्ति योजना र विकास निर्माणले केही पनि उपलब्धी छुँदैन ।
आदिवासीको अर्थ पहिलो बासिन्दा भन्ने बुझ्नु पर्दछ । अन्तर्राष्टिय मान्यतालाई मान्ने हो भने सो स्थानमा पहिलो अधिकार त्यही पहिलादेखि बसोबास गर्दै आएको जातिलाई रहन्छ । आदिवासीको अर्थ राज्यको सुविधा नलिइकन आफ्नै तरिकाले जीवन निर्वाह गरिरहेका जातिहरु हुन् । सोही अनुरुप उनीहरुको भाषा, संस्कृति, रहन सहन पनि चलिरहेको हुन्छ । र उनीहरुको अधिकार भूमि, जंगल र जलमा रहन्छ । त्यहाँ केही विकास निर्माण गर्नु परेको खण्डमा अबदेखि सरकारले उनीहरुसंग सोधेर मात्रै बनाउनु पर्ने हुन्छ । सोही अधिकार जनजाति अधिकार वा आदिवासी अधिकार हो । आदिवासी जनजातिहरुको हक, अधिकार र जीवन यापत सुनिश्चित बनाउनको लागि गरिने कार्यक्रमलाई आदिवासी गतिविधिहरु भन्नु पर्दछ । हिन्दू वणर्ाश्रममा नपरेका शासक वर्गमा नपरेकाहरु नै यो देशका आदिवासी जनजातिहरु हुन् । नेवार त्यही भित्र पर्दछ ।
इतिहास भन्दा पुरानो, राजनीतिक ब्यवस्था स्थापना हुनु भन्दा अगाडि देखि निरन्तर बस्दै आएका र आफ्नै भाषा, आफ्नै पोशाक र संस्कृति पनि भएको प्राकृतिक धर्म मान्ने जाति आदिवासी जनजाति हुन् । उनीहरुसंगको राज्यको सम्वन्धी स्वायत्त हुनु पर्दछ । राज्यले उनीहरुले मान्ने धर्म, कला, संस्कृति र जनजीवनमा हस्तक्षेप गर्न पाइन्न । विश्वमा आदिवासी दिवस मनाउनुको अर्थ पनि उहीं हो । राज्य बन्नको लागि आवश्यक तत्वहरु जमिन, जनसंख्या, सार्वभौमसत्ता चाहिए जस्तै पहिचानको लागि आदिवासी जनजातिहरुलाई पनि विभिन्न खालको चीजले प्रभाव परेको हुन्छ । त्यस्ता तत्वहरुलाई बचाई राख्नको लागि राज्यको तर्फबाट काम गर्न गराउन पनि संयुक्त राष्ट संघीय निकायहरुले आ आफ्नो तरिकाले काम गरिरहेका हुन्छन् । आदिवासीहरु बिस्थापित हुने कारण भनेको युद्ध, प्राकृतिक प्रकोप र ठूल ठूला भूकम्पहरु नै हुन् । उनीहरु त्यसबाट बच्न गाह्रो हुन जान्छ ।
यस्तो विभिन्न खालका बिस्थापनकारी चीज परिआएपनि सरकारले ती जातिलाई संरक्षण गर्ने र अधिकार प्रदान गर्न लगाउने कार्य गर्नु पर्ने हुन्छ । तर आदिवासी जनजातिरु नै सचेत र संगठित भएन भने आफ्नो अधिकार सुनिश्चित गर्न सकिन्न । त्यसैले पनि उपत्यकाका नेवार जाति लगायत ती जाति बसोबास गरेको ७७ वटै जिल्लाका नेवाः समुदायलाई आफ्नो हक, अधिकार र जीवन यापन गर्नको लागि रोजगारीको समेत सुनिश्चित गर्ने कार्यमा अहिले अधिकारकर्मिहरु निरन्तर आफ्नो जाति जनजातिको जागरण कार्यमा आगडि बढ्नु आवश्यक छ । त्यसैले पनि आदिवासी दिवस मनाएको सार्थन हुन सक्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!