ट्वान्टी–२० महिला विश्वकपको एशिया छनोटको तयारीका लागि नेपाल मलेसियामा

श्रावण ३१, २०८० बुधबार

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ ।

नेपालले ट्वान्टी–२० विश्वकपको छनोट यात्राका लागि मलेसियामा चार राष्ट्र सम्मिलित ट्वान्टी–२० श्रृंखला खेल्दैछ । सोही श्रृंखला खेल्ने जाने नेपाली टोलीको बुधवार मुलपानीस्थित नेपाल क्रिकेट संघ (क्यान) को कार्यलयमा बिदाई गरिएको हो । उनीहरूलाई क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठक र कोषाध्यक्ष रोशनबहादुर सिंहले बिदाई गरेका थिए । नेपालले आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आइसिसी ट्वान्टी–२० महिला विश्वकपको एशिया क्वालिफायर खेल्दैछ ।
सोही छनोटको तयारीका लागि नेपाली महिला टोलीले मलेसियामा श्रृंखला खेल्न लागेको हो । नेपालले घरेलु टोली मलेसियासहित कुवेत र हङकङसँग श्रृंखलामा प्रतिष्पर्धा गर्नेछन् । उक्त श्रृंखला आगामी अगस्ट २२ देखि २६ सम्म वायुमास ओभलमा हुनेछ । पाँच दिन चल्ने श्रृंखलाको शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् । बाँकी दुई टोलीले तेस्रो स्थानको लागि खेल्ने तालिका छ । नेपालले पहिलो खेल अगस्ट २२ मा हङकङ र दोस्रो खेल अगस्ट २३ मा कुवेतसँग खेल्नेछ ।
नेपालले एक दिनको विश्रामपछि अगस्ट २५ मा घरेलु टोली मलेसियाको सामना गर्ने तालिका छ । फाइनल खेल अगस्ट २६ मा हुनेछ । क्यानले ट्वान्टी–२० विश्वकपको एशिया क्वालिफायरका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । भारतीय प्रशिक्षक देविका दिलिप पल्सिकरको प्रशिक्षणमा रहेको प्रारम्भिक टोलीबाट गत बिहीवार मात्रै रुविनाको नेपाली टोली घोषणा गरिएको हो । खुशी डंगोल, रुवि पोदार र पूजा महतोले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
रुबिनाको कप्तानीमा रहेको नेपाली टोलीको अन्य सदस्यमा सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, सम्झना खड्का, ईश्वरी बिष्ट, काजोल श्रेष्ठ, अप्सरी बेगम र अस्मिना कर्माचार्य छन् । बिदाइका अवसरमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले इन्डोर अभ्यासमा पनि राम्रो तयारी गरेको बताउनु भयो । रुविनाले मलेसियामा अभ्याससँगै ट्वान्टी–२० श्रृंखला पनि खेल्ने भएकाले राम्रो तयारी पाउने र अहिले क्यानले ब्याटिङमा सुधार हुने गरी विदेशी प्रशिक्षक नियुक्त गरेकाले त्यसको फाइदा लिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यो श्रृंखलाबाट खेल जिताउन सक्ने नयाँ युवा खेलाडी निस्किने समेत आशा व्यक्त गर्नुभयो । नयाँ प्रशिक्षक देविका पेल्सिकरको प्रशिक्षणमा नयाँ प्रतिभा निस्किने कप्तान रुविनाले विश्वास व्यक्त गर्नुभयो । नेपाली क्रिकेट टोलीकी अनुभवी खेलाडी सीता रानामगरले नयाँ प्रशिक्षकबाट आफूहरूले प्रतिष्पर्धा अगाडि नै सबैको भुमिका पाएको र यो श्रृंखलाबाट विश्वकपको तयारी पनि राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

कप्तान रुविना क्षेत्री र आफू करियरको अन्तिम समयतिर रहेकाले यो विश्वकप छनोट चरण आपूmहरूका लागि अन्तिम अवसर रहेको समेत सीताले बताउनु भयो । नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक सामसङ्ग जंग थापाले यस पटक विश्वकप छनोट यात्रा सुखद् हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!