इलाम, भदौ ३, २०८०ः
जिल्ला प्रशासन कार्यालय ईलामले यहाको एक पसललाई रु दुई लाख जरिवाना गरेको छ।
सरकारले किसानलाई अनुदानमा ्दिनु पर्ने रासायनिक मल विना अनुमति बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले यहाको एक पसललाई रु दुई लाख जरिवाना गरेको हो।
इलाम नगरपालिका वडा न ७ मा सञ्चालित माँ दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्सलाई उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिम कसुर गरेको ठहर गर्दै सो जरिवाना गरिएको इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले ्जानकारी दिनु भयो।
सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले उक्त पसल सञ्चालकलाई एक हप्ता भित्र बैङ्कमा जरिवानाबापतको रकम जम्मा गरी भौचरको प्रतिलिपि जिल्ला प्रशासन कार्यालयमा बुझाउन आदेश दिइएको बताउनुभयो । उहाका अनुसार सो पसलबाट १४ बोरा युरिया, २६ बोरा डीएपी र दुई बोरा पोटास बरामद गरिएको छ ।
यसअघि पनि प्रशासन कार्यालयले सदरमुकामकै सुनभागा चोकमा रहेको कृषि बिज भण्डारबाट बिक्री गर्न राखिएको अनुदानको मल बरामद गरेको थियो । बरामदपछि छानबिन गरी प्रशासनले सहकारी मार्फत किसानलाई बाँड्नुपर्ने रासायनिक मल किनेर बेच्ने उक्त बीज भण्डारलाई पनि दुई लाख रुपियाँ जरिवाना गरेको थियो ।