भक्तपुर, २०८० असोज २६ गते, शुक्रबारः
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक गतिविधिहरुमा नयाँ पुस्ताको उत्साहजनक सहभागिताले यहाँको कला संस्कृति संरक्षणमा समेत टेवा पुग्ने बताउनुभयो ।
श्री चण्डेश्वरी धिमे पुचःको आयोजनामा भएको दोस्रो चरणको धिमे बाजा प्रशिक्षण तथा पहिलो पटक धाँ बाजा प्रशिक्षणको समापनको अवसरमा आयोजित कदरपत्र वितरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रजापतिले भक्तपुरको कला र संस्कृति हाम्रो पहिचान भएको बताउनुभयो । उहाँले भक्तपुर नपाले समय समयमा सांस्कृतिक बाजाको प्रतियोगिता गदै संस्कृतिकर्मीहरुको सम्मान समेत गर्दै आएको र आर्थिक तथा भौतिक सहयोगलाई पनि निरन्तरता दिँदै आएको बताउनुभयो । उहाँले बाजाको माध्यमबाट पनि समाजलाई परिवर्तन गर्ने प्रगतिशील विचारले संस्कृतिकर्मीहरुले काम गर्नुपर्नेमा जोड दिँदै उहाँले नयाँ पुस्तालाई इमानदारीपूर्वक देश र जनताको सेवा गर्न मार्गनिर्देश गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, श्री चण्डेश्वरी धिमे पुचःका सल्लाहकार आशाकाजी त्वानाबासु, उपाध्यक्ष विष्णुप्रसाद त्वानाबासुलगायतले पनि बोल्नुभएको थियो ।
प्रमुख अतिथि सुनिल प्रजापतिले धिमेबाजा प्रशिक्षण तथा धाँ बाजा प्रशिक्षणका प्रशिक्षार्थीहरुलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।