जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरियो

धनुषा, माघ ९ गते ।

जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिएर सरकार बाट बाहिरिएको छ ।

जनमत पार्टी मधेश प्रदेश संसदीय दलको निर्णय बमोजिम मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री तथा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव नेतृत्वमा गएको एक टोलीले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको हो । सो पत्रमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न नेपालको संविधानको धारा १६८ अनुसार समर्थन रहेकोमा आजकै मिति अर्थात मंगलबारदेखि लागु हुने गरी समर्थन फिर्ता लिएको उल्लेख छ ।

मधेश सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले अब ३० दिन भित्र फेरि विश्वासको मत लिनुपर्ने हुन्छ । सोमबार सप्तरीको राजविराजमा मधेश कृषि विश्व विद्यालयको भवन शिलान्यास कार्यक्रममा उत्पन्न विवादपछि भएको झडपपछि जनमत पार्टी सरकार छोड्ने निर्णयमा पुगेको हो ।

झडपमा प्रहरीको लाठी चार्जबाट शिक्षा तथा संस्कृति मन्त्री तथा जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव घाइते भएपछि सोही विषयलाई लिएर जनमत पार्टीले सरकारको समर्थन फिर्ता लिएको मन्त्री चन्दन सिंंहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!