मध्यपुर थिमि ,माघ १६, २०८०ः
कृष्ण किसि
मध्यपुर युथ एसोसिएसनको आयोजनामा दोश्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटवल प्रतियोगिता आयोजना हुने भएको छ ।
एसोसिएसनले मंगलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले प्रतियोगितामा मध्यपुर थिमि नगरपालिकाभित्र रहेका नौ वटा वडाहरुले सहभागिता जनाउने बताए। । प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाइने सिंहले जानकारी दिए । पत्रकार सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक अष्ट कवेंले प्रतियोगितामा प्रतिस्पर्धी सवै टिमले आठ खेल खेल्नुपर्ने बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार, दोश्रोले एक लाख २५ हजार र तेश्रोले ६० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। साथै प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीले टफी प्राप्त गर्ने र उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद रु १० दस हजार प्राप्त गर्ने छ। प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीले नगद रु २० हजार र प्रतियोगिता भरको अनुशासित टिमलाई फेयर प्ले टिम घोषणा गरी नगद रु २५ हजार प्रदान गरिने छ।
पत्रकार सम्मेलनको क्रममा मध्यपुर थिमि नगरपालिका र एसोसिएसनवीच सम्झौतामा हस्ताक्षर भएको छ । प्रतियोगिताका लागि नगरपालिकाबाट २५ लाख प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतामा मेयर सुरेन्द्र श्रेष्ठ र एसोसिएसनका अध्यक्ष उपेन्द्रमान सिंहले हस्ताक्षर गरेका थिए । माघ २९ गतेदेखि २४ गतेसम्म हुने प्रतियोगिताका लागि कुल २८ लाख २४ हजार खर्च हुने अनुमान गरिएको छ ।