काठमाडौं, फागुन ५ गते ।
केके मानन्धर
नेवाः पत्रकार राष्ट्रिय दबूको १२ औं वार्षिक साधारणसभामा सत्यनारायण बहादुर श्रेष्ठकाे चर्चा भएको छ । कार्यक्रममा बाेल्ने अधिकांस वक्ताहरूले श्रेष्ठलाई नेपाल पत्रकार महासंघकाे संस्थापक अध्यक्षकाे मान्यता दिलाउनुपर्नेमा जाेड दिएका हुन् ।
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले पत्रकारको सहि इतिहास स्थापित गर्नुपर्नेमा जाेड दिए । कमाण्डर पाेस्ट नाउँकाे राष्ट्रिय दैनिक पत्रिका चलाएकाे अनुभव संगालेका मन्त्री चित्रकारले व्यावसायिक पत्रकारितालाई जाेड दिंदै सहि र सन्तुलित समाचार प्रकाशन र प्रशारण गर्नुपर्ने विचार पाेखे । ‘सत्यनारायण बहादुर श्रेष्ठले २००८ सालमा पत्रकारहरूलाई संगठित गर्ने अभियानको सुरुवात गरेका हुन् । नेपाल टुडेका सम्पादक श्रेष्ठले आफ्नो सभापतित्वमा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको इतिहास छ । तर २०१२ सालमा पुनर्गठन गरिएको पत्रकारहरुको संगठनका सभापतिलाई संस्थापक बनाएर पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको छविमा राजनीति गरेकाे छ ।’ फाेनिजका अध्यक्ष गजुरधन राईले बताए । अध्यक्ष राईले अग्रहरूकाे नाउँमा राजनीति नगर्न आग्रह समेत गरे ।
नेपाल भाषा मंका खलःको भवनमा सम्पन्न भएको कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पत्रकारहरुले जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जाेड दिए । देश र समाजलाई सहि दिशाबाेध गराउन सक्ने शक्तिले नकारात्मक भन्दा पनि सकारात्मक ढंगले पत्रकारिता गर्न अनुराेध गरे । पत्रकार राष्ट्रिय दबूका सल्लाहकार राजु शाक्यले नेवार समुदायका मुद्दा र अभियानको समाचार मेनस्ट्रिम मिडियामा प्रसारण गर्न सहज नभएको तीतोसत्यकाे अनुभव सुनाए ।
महासचिव केके मानन्धरले सञ्चालन गरेकाे कार्यक्रममा ६ जना पत्रकारहरू पुरस्कृत र ३ जनालाई विशेष सम्मान दिइएको थियाे ।
कार्यक्रममा माउन्टेन टेलिभिजनका विश्वन्तर शाक्यलाई २० हजार राशिकाे ज्ञानज्योति- लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ । झंकार एफएम रामेछापका युवराज श्रेष्ठलाई नगद १५ हजार राशिकाे ज्ञानदेवी- मणि पत्रकारिता पुरस्कार दिइएको छ । त्यस्तै, बुद्ध धर्म र दर्शन प्रचार प्रसारमा योगदान दिएको कदर गर्दै मेट्रो एफएमका उदेन न्हूसायमिलाई नगद २० हजार राशिकाे भिक्षु कुमार कश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल मण्डलकी सिल्भिया राजोपाध्यायलाई वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार, अनलाइन डबलीका बुद्धशरण शाहीलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार र अनलाइन खबरकी रेणु त्वानाबासुलाई श्रीराम स्मृति पत्रकारिता पुरस्कार दिइएको छ । तिनै जनालाई पुरस्कारसँगै जनही १०-१० हजार राशि प्रदान गरिएको छ ।
त्यस्तै, नेवाः पत्रकार राष्ट्रिय दबूले गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्य, गोरखापत्र दैनिकका सम्पादक सल्लाहकार उपेश महर्जन र फाेनिजका पूर्व अध्यक्ष दण्ड गुरुङलाई विशेष सम्मान गरेको छ । कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूको स्मारिका ‘लुमन्ति पौ’ पनि विमोचन गरिएको थियो ।
नृपेन्द्रलाल श्रेष्ठकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाका अध्यक्ष अरविन्दमान सिंह, दण्ड गुरूङ, सिल्भिया राजाेपाध्याय लगायतले बाेलेका थिए ।

