कांग्रेस महासमिति बैठकको दोश्रो दिनः बन्द सत्र सुरु

काठमाडौँ , फागुन ८, २०८०ः

नेपाली कांग्रेसको महासमिति बैठकको आजबाट बन्द सत्र सुरु भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चलिरहेको महासमितिको आजको बैठकमा नेपाली काँग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा पार्टीको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव तथा अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभयो ।

बैठकमा नीति प्रस्ताव प्रस्तुत गर्नुहुँदै नेपाली काँग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले ठूलो दलका हैसियतले काँग्रेसले लोकतन्त्रको स्थायित्व र सबलीकरणको नेतृत्व गर्नु पर्ने बताउनुभयो । उपसभापति खड्काले ठूलो दलका हैसियतले सबै राजनीतिक दल, नागरिक समाज तथा सञ्चार जगतलाई साथमा लिएर लोकतन्त्रको संरक्षण, संवर्द्धन तथा समुन्नतिको लागि पनि नेपाली काँग्रेसले काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उपसभापति खड्काले मुलुकको सार्वभौमसत्ता, लोकतन्त्र तथा नागरिक हक अधिकारमाथि कुनै पनि शक्ति तथा निकायबाट हुने अतिक्रमण तथा हननका विरुद्ध नेपाली कांग्रेस आफ्नो स्थापना कालदेखि लड्दै आएको पनि बताउनुभयो ।

महासमिति बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसले आगामी निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने अवस्था सुनिश्चित गर्नुपर्ने कुरा समावेश गर्दै पार्टीको साङ्गठनिक प्रस्ताव प्रतिवेदन पेश गर्नुभयो । थापाले पार्टी सरकारमा सहभागी भए पनि सरकारले गरेका कामको पार्टीबाट यथोचित प्रचार हुन नसकेको उल्लेख गर्नुहुँदै संघ, प्रदेश र बहुसङ्ख्यक स्थानीय सरकारमा पार्टी नेतृत्वदायी भूमिकामा भएता पनि पार्टी सदस्यहरुले पार्टी सरकारमा भएको महसुस गर्न नपाएको गुनासो रहेको बताउनुभयो ।

त्यसैगरी अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको तर्फबाट हरेक तहमा जनप्रतिनिधिको कार्यकाल निर्धारण गर्नुपर्ने प्रस्तावसहित समसामयिक राजनीतिक प्रतिवेदन पेश गनुभयो ।महामन्त्री शर्माले मन्त्रीपरिषद् तथा अन्य क्षेत्रमा नियुक्ति गर्दा विज्ञतालाई विशेष महत्व दिन र पार्टी संरचनामा समेत विज्ञहरूलाई प्रवेश गराउन विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो ।।

बैठकमा पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्नुभयो । मुलुकको वर्तमान आर्थिक अवस्था विषयक प्रतिवेदन पेश गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा क्रमिक सुधार हुँदै गएको देशको आर्थिक वृद्धिले गति लिँदै गएको बताउनुभयो। अर्थमन्त्री डा महतले अर्थतन्त्रका आफूले अर्थ मन्त्रालयको नेतृत्व गरेदेखि आर्थिक क्षेत्रमा महत्वपूर्ण सुधारका काम भएको उल्लेख गर्नुहुँदै बजेटको पूँजीगत खर्चको प्रभावकारिता बढाउन स्रोत साधन छर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै आयोजना वर्गीकरणका आधार र मापदण्ड निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।

हिजोबाट शुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!