“मध्यपुर थिमि नगरपालिकाले घरघरमै पुगेर खोप लगाउने व्यवस्था गरेको छ” मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ
मध्यपुर थिमि, फागुन १३, २०८०ः
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आजबाट देशव्यापी रुपमा राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/८१ को शुभारम्भ गर्नुभएको छ ।
भक्तपुरको मध्यपुर थिमिको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको अभियान उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझालाई खोप तथा खोप सामग्री हस्तान्तरण गरी देशभर एकैसाथ अभियानको उद्घाटन गर्नुभयो । मन्त्री बस्नेतले आगामी सन् २०२६ भित्र नेपाललाई दादुरा–रुबेला उन्मूलन गर्ने सरकारको लक्ष्य हासिल गर्न देशभरका स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय तह र सरोकारवाला निकायले साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।
आजबाट सुरु भई चैत ७ गतेसम्म सञ्चालन हुने यो अभियान प्रभावकारी ढङ्गले देशैभरि सञ्चालन हुनेमा आफू विश्वस्त रहेको भन्दै उहाँले कर्मचारीले इमानदारीपूर्वक काम गर्न आग्रह गर्नुभयो । अभियानको शुभारम्भ मध्यपुरथिमिबाट भएको भन्दै उहाँले भक्तपुरले यहीँ अभियानमा शतप्रतिशत खोप लगाएर देशकै नमुना जिल्ला बन्नुपर्नेमा जोड दिनुभयो । तराई र काठमाडौँ उपत्यका दादुरा–रुबेलाको उच्च जोखिममा रहेको भन्दै मन्त्री बस्नेतले पहिला खोप लगाएकाहरूले पनि पुनः खोप लगाउन र खोप लगाउन छुटेकालाई पनि पहिचान गरेर खोप लगाउन निर्देशन दिनुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो, “यो खतरनाक रोग हो । यसबाट बालबालिकाको मृत्यु पनि हुनसक्छ, एकजना बिरामीले १८ जनालाई रोग सार्न सक्छ । विद्यालयबाट यो रोगको सङ्क्रमण फैलिए महामारीको रूप लिन्छ । त्यसैले शिक्षा दिने थलो विद्यालयबाटै यो अभियान सुरु गरेका छौँ, नियमित खोप लगाएकाहरूले पनि यो खोप दिनुपर्छ ।”
आफू स्वास्थ्य मन्त्री भएर आएपछि स्वास्थ्यको क्षेत्रमा स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच त्रिकोणात्मक समन्वय गराएर काम गरिरहेको भन्दै सरकारको लक्ष्य पूरा गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने मन्त्री बस्नेतले बताउनुभयो । उहाँले सहरी क्षेत्रमा बसाइ सरेर आएका र जानेमा खोप लगाउन ध्यान केन्द्रित गर्दै शतप्रतिशत खोपको सुनिश्चितता गर्नुपर्नेमा जोड दिँदै अभियान सफल पार्न सबै निकायलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुरका सङ्घीय सांसद दुर्लभ थापाले खोप अभियानलाई सफल पार्न स्थानीय तह र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहने भएकाले यी निकाय सक्रिय हुनुपर्ने बताउनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दीपेन्द्ररमण सिंहले दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य हासिल गर्ने क्रममा चार प्रतिशत बालबालिकामा खोप लगाउन छुटेको र रोग पनि देखा परेपछि अभियान सञ्चालन गर्नु परेको बताउनुभयो । खोप लगाउन छुटेको, बढी जनसङ्ख्या भएका क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर अब खोप लगाउन कोही नछुट्ने गरी अभियान सुरु भएको बताउनुभयो ।
स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्रले सरकारले २०२३ मै दादुरा–रुबेला निवारणको लक्ष्य राखे पनि विभिन्न कारणले सम्भव नभएको भन्दै २०२६ मा यो लक्ष्य प्राप्त गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो लक्ष्य प्राप्ति नगर्दा राज्यको करोडौँ लगानी खेर जान्छ, त्यसैले यो अभियानमा ५७ लाख ५० हजार बालबालिकालाई खोप पुर्याउने छौँ, अझै चार प्रतिशत बालबालिकामा नियमित खोपसमेत पुग्न सकेको छैन, ती छुटेका बालबालिकालाई पनि अभियानमै सबै खोप पुर्याउँछौँ ।”
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले कतिपय अभिभावकको व्यस्तता र बसाइसराइले समस्या देखिएको भन्दै नगरपालिकाले घरघरमै पुगेर खोप लगाउने व्यवस्था गरेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आउँदो २०८१ सालभित्र चाँगुनारायणलाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गर्ने चरणमा रहेको भन्दै सरकारको अभियान सफल पार्ने बताउनुभयो ।
देशको ७२ जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसके पनि बाँकी पाँच जिल्लालाई पनि घोषणा गर्ने गरी प्रयत्न भइरहेको बताइएको छ ।
कार्यक्रममा युनिसेफ नेपालकी प्रतिनिधि एलिश अकुंगा, विश्व स्वास्थ्य सङ्गठनका आवासीय प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डभले नेपाल सरकारले सुरु गरेको अभियानको लक्ष्य पूरा हुनेमा विश्वस्त रहेको बताउनुभयो ।