काठमाडौं, फागुन १६, २०८०ः
नेकपा(माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
माओवादी केन्द्रको सो बैठकले प्रदेश इन्चार्ज र सहइन्चार्जहरु पनि तोकेको छ । जसअनुसार कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी उपमहासचिव हरिबोल गजुरेललाई दिएको छ भने सहइन्चार्जको जिम्मेवारी सावित्रीकुमार काफ्लेलाई दिएको छ । मधेस प्रदेशको इन्चार्ज सचिव लिलामणि पोखरेल र सहइन्चार्जको जिम्मवारी स्थायी कमिटी सदस्य विश्वनाथ शाहले पाउनुभएको छ । त्यस्तै वागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटालाई दिइएको छ । वागमतीमा सहइन्र्चाज तोकिएको छैन ।
प्रवक्ता सापकोटाका अनुसार गण्डकी प्रदेश इन्चार्ज सचिव दिनानाथ शर्मा र सहईन्चार्ज हरिराज अधिकारीलाई दिइएको छ । त्यस्तै लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव चक्रपाणि खनाल र सहइन्चार्जको जिम्मेवारी कुलप्रसाद केसीले पाएका छन् । कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल बन्नुभएको छ भने सहइन्चार्ज तोक्न बाँकी राखिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल र
सहइन्चार्ज केन्द्रिय सदस्य बिना मगरलाई बनाइएको छ ।
प्रवक्ता सापकोटाले प्रवास प्रदेश समिति मध्यपूर्वको इन्चार्ज उपाध्यक्ष पम्फा भुसाल, प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्ज लक्ष्मण पन्त र सहइन्चार्ज टिबि पाठक तथा प्रवाश प्रदेश समिति युरोप अमेरिका इन्चार्ज सुरेन्द्रकुमार कार्कीलाई तोकिएको जानकारी दिनुभयो । बैठकले विशेष प्रदेश समितिको इन्चार्ज हितमान शाक्य र सहइन्चार्ज यशोदा सुवेदीलाई बनाएको पनि उहाँले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले मधेस तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि संचालन गर्ने निर्णय गरेको छ । त्यस्तै स्थानीयदेखि संघीय जनप्रतिनिधिहरु भने आफ्नो निर्वाचित जिम्मेवारीमा नै रहने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।