महेन्द्रनगर, चैत १ , २०८०ः
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसहित समग्र देशको विकासले अब गति लिने बताउनुभएको छ । कञ्चनपुरको एमालेको नवौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सुख्खा बन्दरगाह, छेला औद्योगिक क्षेत्र निर्माणले पनि तीव्रता पाउने बताउनुभयो । ‘हामीले सुख्खा बन्दरगाह अगाडि बढाएका थियौँ, त्यो काम अगाडि बढेन, दैजीमा हामीले औद्योगिक क्षेत्र शिलान्यास गरेका थियौँ, त्यो पनि अगाडि बढेको छैन’ ओलीले भन्नुभयो, ‘अब सुदूरपश्चिमसहित नेपालले औद्योगिक विकासले गति पाउँछ ।
हाम्रो नीतिअनुसार हामी सुदूरपश्चिमलगायत देशको विकासलाई अगाडि बढाउँछौँ’ उहाँले भन्नुभयो, ‘तीन वर्षमा प्रधानमन्त्री हुँदा सुरु गरेका सुदूरपश्चिमका सबै कामहरूले अब निरन्तरता पाउँछन् ।’ उहाँले आफ्नो साथ सुदूरपश्चिममा रहेको भन्दै डिल्लीराज भट्टलाई प्रदेश प्रमुख बनाएको बताउनुभयो ।
‘यहाँ विकासको कामलाई अगाडि बढाइने छ । कृषिमा आधुनिकीकरण गरिने छ । आधुनिक कृषि प्रणाली लागू गरिने छ । जग्गा धनीपूर्जा उपलब्ध गराइने छ’ अध्यक्ष ओलीले भन्नभयो । अध्यक्ष ओलीले जिल्ला नेतृत्वको लागि सक्षम र सबल नेतृत्व चयन गर्न पनि निर्देशन दिनुभयो ।
‘जनतामा राजनीतिक जागरण सुरु गर्नुपर्छ, त्यसको अगुवाइ एमालेले गर्छ’ ओलीले भन्नुभयो, ‘त्यस अनुसारको नेतृत्व अगाडि बढाउनुपर्छ । सबैले यहाँबाट सहयोग गर्नुपर्छ ।’ उहाँले सर्वसम्मतमार्फत नेतृत्व चयन गर्न नभए स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
कञ्चनपुरका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका सबै वडामा विजयी हुनेगरी काम गर्न समेत कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘सबै क्षेत्र समेट्नुहोला र महिला हुँदैमा नेतृत्व गर्न सक्दैनन् भन्ने मानसिकताबाट टाढा रहनुहोला ।’
‘यो समीकरण हामीले बनाएका हौँ । अरू कसैको इच्छा, आकाङ्क्षाको बलले होइन’ उहाँले भन्नुभयो, ‘चीन आएर बनाइदियो भनेर हाम्रो अपमान गर्ने काम भइरहेको छ ।’