काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा दृढ छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, चैत्र १५, २०८०ः

प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसके पदमा बस्नुहुँदैन भन्ने मान्यतामा आफू दृढ रहेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले विकास निर्माणको कामलाई गतिदिने, सुशासन कायम गर्नेलगायतका कामहरु गर्ने भनेर आफूले नयाँ सत्ता समिकरण बनाएको उल्लेख गर्दै ती काम पनि हुन नसके फेरि पनि उथलपुथल गर्न बेर नलाग्ने बताउनुभयो । कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर आफूले यस अघि पनि सार्वजनिक रुपमै भनेको उल्लेख गर्दै उहाँले त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेरनै आफू पदमा बसिरहेको स्पष्टिकरण पनि दिनुभयो ।

प्रधानमन्त्री दाहालले मन्त्रालयहरुले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सःशर्त अनुदानको रुपमा पठाउने काम आगामी आर्थिक वर्षदेखि हुनै नदिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहमा जाने बजेट बजेट वक्तव्यमै समावेश गरेर लैजाने व्यवस्था गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनमा ढिलाई नगर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सचेत पनि गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!