काठमाडाैं, चैत्र १७, २०८०ः
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताउनुभएको छ । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दाबी गर्नुभयो । उहाँले आम नागरिकको शान्ति सुरक्षा आफूहरुको चासोको विषय रहेको बताउनुभयो । उहाँले इलाममा लागुऔषधमा निकै ठूलो समस्या र चुनौति रहेको बताउनु भयो । उहाँले इलाममा डरलाग्दो आत्महत्याको तथ्यांक आएको भन्दै यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले स्थानीय र राष्ट्रिय चुनौतिहरुसँग जुध्नको लागि सबै प्रतिवद्ध हुन जरुरी रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री लामिछानेले राजनीतिको भविष्यको प्रवाह नगरी सिंगो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिवद्धताका साथ आफूहरु सरकारमा आएको बताउनुभयो ।