एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, चैत २०,२०८०ः

मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौला कोरोना सङ्क्रमित फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताउनुहुन्छ। “मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी आउने गरेका छन्”, उहाँले भन्नुभयो, “तर बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन्।”

निर्देशक डा बसौलाका अनुसार अहिले तीन सङ्क्रमितले सघन उपचार कक्ष (आइसियु) र दुई जनाले श्ययामा उपचार गराइरहेका छन्। अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उहाँले बताउनुभयो।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले भारतमा पुस महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ देखिएसँगै नेपालमा पनि कोरोनाका बिरामी देखिएको बताउनुभयो।

“भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट्ट बिरामी देखिएका हुन”, उहाँले भन्नुभयो, “तर अहिले भने बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित छैनन्। अहिले मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन्।” नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताउनुभयो। कोरोनाबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!