सरकारको एक्लो प्रयासले मात्रै देशको आर्थिक अवस्थामा सुधार आउन सक्दैन : मन्त्री शर्मा

काठमाडौँ, १४ बैशाख, २०८१ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशलाई आर्थिक सङ्कुचनको अवस्थाबाट बाहिर निकाल्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले आयोजना गरेको डिजिटल एक्सपो –२०२४ को उद्घाटनका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चार मन्त्री शर्माले सरकारको एक्लो प्रयासले मात्रै देशको आर्थिक अवस्थामा सुधार आउन नसक्ने बताउनुभयो ।

मन्त्री शर्माले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमको तयारी गरिरहेको उल्लेख गर्नुहुँदै आगामी बजेटमा कृषि, पर्यटन र ऊर्जा क्षेत्र सँगसँगै सूचना प्रविधि क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखिने बताउनुभयो ।

मन्त्री शर्माले सूचना प्रविधिको विकासलाई सरकारले युवा जनशक्तिको बढ्दो विदेश पलायन रोक्ने महत्त्वपूर्ण औजारका रूपमा लिएको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा लगानी बढाउन सके सुशासन प्रवर्द्धन तथा रोजगारीका अवसरहरूको सिर्जना गर्न सकिनेमा सरकार स्पष्ट रहेको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल च्याम्वर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्षहरू सुरकृष्ण वैद्य र हेमराज ढकाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंह लगायतले देशको आर्थिक अवस्थालाई गति दिन सरकारले विकास खर्च बढाउनुपर्ने र कर नीतिमा परिमार्जन गरी साना तथा मझौला उद्योगको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!