प्रदेश सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने

ललितपुर, बैशाख १९, २०८१ः

बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको ऐन २०८० आगामी वैशाख २४ गतेदेखि लागू हुने भएको छ ।

भाषा आयोगको सिफारिसमा बागमती प्रदेश सरकारले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०८० यहि वैशाख २४ गते २०८१ तदनुसार नेपाल संवत् ११४४ चौलागाः त्रियोदशी मञ्जुश्री संवत् २८६० का दिनदेखि व्यवहारमा लागू हुने भएको छ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले बुधबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले वैशाख २४ गते काठमाडौंको बसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष समारोह आयोजना गरी उक्त ऐन लागू भएको घोषणा गरिने जानकारी दिनु भयो। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको बिशेष आतिथ्यता रहने उक्त कार्यक्रमको संयोजन नेवाः दे दबु र तामाङ घेदुङले गर्नेछ।

भाषा दिवस मूल समारोह समितिका संयोजक समेत रहनु भएका मन्त्री शैलेन्द्र मान बज्राचार्यले ऐन कार्यान्वयनलाई विशेष स्मरणीय बनाउनका लागि विशेष समारोहको आयोजना गर्न लागिएको जानकारी दिनु भयो ।

गत २०८० असोज २२ गते बागमती प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको बिशेष पहलमा तत्कालिन संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० प्रस्तुत गर्नुभएको थियो। संसदबाट सर्वसम्मत रूपले पारित भएको उक्त ऐन २०८० कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो। प्रकाशित भएको १८० औं दिनमा विधेयक परिपक्व भई कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेको छ। सोही व्यवस्था अनुरुप आउदो बैशाख २४ गते देखि यो ऐन कार्यान्वयनमा जान लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!