आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषदमा पेस हुँदैछ : मन्त्री शर्मा

काठमाडौँ, वैशाख २१, २०८१ः

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषदमा पेस हुने प्रक्रियामा रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसदमा दर्ता भएको जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी विधेयक पनि चाँडै मन्त्रीपरिषद्मा पेस गर्ने तयारी रहेको बताउनुभयो ।

मन्त्री शर्माले छाता कानुनको रूपमा आमसञ्चार ऐन, बनेपछि सरकारको तर्फबाट आमसञ्चारको व्यवस्थापन र सहजीकरणका लागि छाता निकायको रूपमा आमसञ्चार प्राधिकरण बनाएर मिडियाको प्रवर्द्धन, श्रमजीवी पत्रकारको पेसागत अधिकारको संरक्षण र लोककल्याणकारी कोष सञ्चालन लगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको सोच पनि बताउनुभयो ।

‘‘आमसञ्चार क्षेत्रको स्वनियमन, प्रवर्द्धनमा केन्द्रित रहेर तयार गरिएको मिडिया काउन्सिल विधेयक भर्खरै सङ्घीय संसदमा दर्ता भएको छ भने आमसञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेस हुने प्रक्रियामा छ । त्यस्तै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी विधेयक पनि चाँडै मन्त्रीपरिषदमा पेस गर्ने तयारी हुँदैछ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘छाता कानुनको रूपमा आमसञ्चार ऐन, बनेपछि सरकारको तर्फबाट आमसञ्चारको व्यवस्थापन र सहजीकरणका लागि छाता निकायको रूपमा आमसञ्चार प्राधिकरण बनाएर मिडियाको प्रवर्द्धन, श्रमजीवी पत्रकारको पेसागत अधिकारको संरक्षण र लोककल्याणकारी कोष सञ्चालन लगायतका काम एउटै निकायबाट अघि बढाउने सरकारको सोच रहेको छ ।’’

मन्त्री शर्माले कानुन निर्माणका क्रममा राष्ट्रिय आमसञ्चार नीति, २०७३ लाई मार्गदर्शन मानेर अघि बढिरहेको बताउनुभयो । उहाँले नयाँ प्रविधिसँगै आएका चुनौतीहरूको सामना गर्न आम सञ्चार नीतिको तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!