खुल्ला गुँला बाजा प्रतियोगिता सम्पन्नः क्वनेया गुँला बाजँ सञ्चालन तथा व्यवस्थापन समिति प्रथम

मध्यपुर थिमिको प्रजापति गुँला बाजा तृतीय, मध्यपुर थिमिकै थिमि गुँला बाजा खलःलाई सान्त्वना स्थान

भक्तपुर, २२ वैशाख २०८१ः

भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगिता शनिबार भक्तपुर नपा वडा नं. १ भार्वाचो (कुथुबही) मा एक भव्य समारोह बीच सम्पन्न भएको छ। एउटा अतिथि प्रस्तुति समेत गरि जम्मा २६ बाजा समुहको सहभागिता रहेको उक्त प्रतियोगितामा भक्तपुर तेखाचोको क्वनेया गुँला बाजँ सञ्चालन तथा व्यवस्थापन समिति प्रथम भएको छ ।्त्यसैगरी बुराँख्यो येँ, नरदेवीको ङत तुलाधर गुँला बाजँ खलः द्वितीय, मध्यपुर थिमि चपाचोको प्रजापति गुँला बाजा तृतीय, मध्यपुर थिमि कै थिमि गुँला बाजा खलः र इतुंबहाः येँ, वडा नं. २४ को केशचन्द्र गुँला बाजं खलः ले सान्त्वना स्थान हासिल गरेका थिए ।

ङत तुलाधर गुँला बाजँ खलः
प्रजापति गुँला बाजा
थिमि गुँला बाजा खलः
केशचन्द्र गुँला बाजं खलः

कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतियोगिताका विजयी समूहलाई पुरस्कार वितरण गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)

प्रतियोगितामा प्रथम भएको समूहलाई नगद रु. ४० हजार, द्वितीयलाई नगद रु. ३० हजार, तृतीयलाई नगद रु. २५ हजार र सान्त्वना स्थान प्राप्त गरेको २ वटा समूहलाई रु. २० हजार प्रति समूह नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई रु. ५ हजार प्रदान गरिएको थियो भने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हासिल गरेको बाजा समूहलाई वाद्यवादन सामाग्री पनि पुरस्कारको रुपमा प्रदान गरिएको थियो ।

कार्यक्रमलाई संबोधन गर्नु हुदै प्रमुख अतिथि बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजनामा भएको गुँला बाजा प्रतियोगिता एक सांस्कृतिक पर्वको रुपमा सञ्चालन भएको बताउँदै प्रतियोगिताको आयोजनाले संस्कृतिकर्मी र कलाकारहरुमा उत्साह थपेको बताउनुभयो ।
भक्तपुर कला र संस्कृति संरक्षण र प्रवद्र्धनमा अग्रणी र जीवन्त शहरको रुपमा विकास हुँदै आइरहेको बताउँदै उहाँले देशको कला संस्कृति नै हाम्रो अमूल्य सम्पत्ति रहेको बताउनुभयो । नयाँ पुस्तामा ज्ञान र सीप हस्तान्तरणले देशको मौलिक संस्कृति जगेर्नामा उल्लेखनीय योगदान पुग्ने बताउँदै उहाँले विद्यालयस्तरदेखि यस्ता सीपहरुको प्रशिक्षण दिन सके देशको कला संस्कृति जीवन्त हुने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति

समारोहका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा १० वटा महानगरपालिका–नपा र ४ वटा जिल्ला गरी २६ वटा बाजा खलःले सहभागिता जनाएको बताउनुभयो । भक्तपुरको मूर्त र अमूर्त सम्पदाहरु संरक्षण नै यहाँको विशेषता भएको बताउँदै उहाँले मौलिक संस्कृति जगेर्नामा सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो ।

निर्णायकमण्डलका तर्फबाट डा. पुष्परत्न शाक्यले भक्तपुर नपाले बौद्ध धर्म र संस्कृतिसँग जोडिएको गुँला बाजा प्रतियोगिता आयोजना गरी उल्लेखनीय कार्य गरेको बताउँदै प्रतियोगिता आयोजनाले गुला बाजा संरक्षण र सम्बर्धनमा समेत टेवा पुग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!