मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, असार ८ ,२०८१ः

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको दाबी समेत गर्नुभयो।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको उल्लेख गर्दै हट्छ कि भन्ने चिन्ता नलिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो। सरकारमा रहँदासम्म भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिको निम्ति आफूले काम गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ। उहाँले सरकारमा रहँदासम्म सत्तारुढ दलबिच भएको समझदारीलाई इमान्दारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि दोहोर्‍याउनुभयो।

‘‘बाहिर सरकार कति दिन होला ? चल्छ कि चल्दैन ? विभिन्न कुरा आउँछन्। अब जति दिन बसिन्छ, भ्रष्टाचारको विरुद्ध गतिविधि गर्ने हो। जतिदिन बसिन्छ, सामाजिक न्यायको निमित्त काम गर्ने हो। जति दिन बसिन्छ, समृद्धिको निम्ति काम गर्ने हो भनेको अहिले डेढ वर्षभयो। तर म बसेकै छु। तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। ढुक्क भएर काम गरे हुन्छ। हामीलाई हटाउन सजिलो छैन। इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनको कारणले र हाम्रो जादु नम्बरको कारणले पनि। जादु नम्बर छ हाम्रो। थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादुवाला नम्बर छ। त्यो जादुले अनेक गरेर मिलाई हाल्छ। त्यसकारण त्यहाँ चिन्ता लिनुपर्ने छैन। तैपनि हामीले राजनीतिक दलसँग जे समझदारी गरेका छौँ। त्यो समझदारीप्रति हामीले जहिले पनि इमान्दारिता अपनाएका छौँ। हामी इमानदारीपूर्वक नै भएका समझदारी कार्यान्वयन गर्नेछौँ। त्यसकारण आजै केही हुन्छ कि, भोलि केही हुन्छ कि भन्ने कुरा बेकारको कुरा हो। तपाईँहरू ढुक्कसँग आफ्नो काम गर्नुहोला’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।

प्रधानमन्त्री दाहालले सरकार कायम रहने भएकाले सोही अनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभयो।

तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!