तीव्र विकासको आकांक्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल
नगरकोट, १ वैशाख २०८१ः
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताको तीव्र विकासप्रतिको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। नगरकोट भ्रमण वर्ष २०८२ को सोमबार आयोजित शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक सुधार र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सबै तह, वर्ग र निकायको सहकार्य आवश्यक रहेको बताए।

राष्ट्रपतिले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा जस्ता क्षेत्रलाई आर्थिक मेरुदण्डको रूपमा सम्बोधन गरे। उनले यी क्षेत्रहरूमा नीति, कानुन र लगानीमैत्री वातावरण तयार पारेर रोजगारी सिर्जना, उत्पादन लागत घटाउने र औद्योगिकरण प्रवर्द्धन गर्ने कार्य राज्यको प्राथमिक दायित्व भएको उल्लेख गरे।
“न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिंदै सुधारको बाटोमा अघि बढ्नु, अनि नेपाली जनताको चाहना अनुसार विकासको गति दिनु हाम्रो सबैको जिम्मेवारी हो,” राष्ट्रपति पौडेलले भने।

उनले सांस्कृतिक, ऐतिहासिक र धार्मिक धरोहरहरूको संरक्षण र समुचित उपयोग गरी पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको माध्यम बनाउन सकिने बताउँदै नगरकोटको विशेषताका कारण यो स्थान देश-विदेशका पर्यटकहरूको रोजाइमा परेको उल्लेख गरे। नगरकोटको प्राकृतिक सौन्दर्य, सूर्योदय–सूर्यास्त अवलोकन, हिमश्रृङ्खलाको दृश्यावलोकन तथा वरपरका सम्पदा—जस्तै चाँगुनारायण मन्दिर, महादेव पोखरी, शालीनदी लगायतका ऐतिहासिक स्थलहरू—मार्फत पदयात्रा पर्यटनको समेत विकास भइरहेको उनले बताए।
नगरकोट भ्रमण वर्ष २०८२ लाई पर्यटन प्रवर्द्धनको अवसरको रूपमा उपयोग गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए। उनले नगरकोटलाई थप सुविधा सम्पन्न र व्यवस्थित बनाउने कार्यमा संघ, प्रदेश, स्थानीय सरकार, निजी क्षेत्र तथा स्थानीय बासिन्दाबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
अन्त्यमा, नयाँ वर्ष २०८२ को अवसरमा उनले समावेशी समाज, दिगो विकास, आर्थिक समृद्धि र राष्ट्र निर्माणमा सबै जुट्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे।