मध्यपुर थिमि, १५ वैशाख २०८२ः
मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १७ औं स्थापना दिवस भव्य समारोह बीच सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ‘मध्यपुर रक्तसञ्चार केन्द्र’को पनि औपचारिक शुभारम्भ गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै मन्त्री पौडेलले अस्पतालको निरन्तर सेवा प्रवाहप्रति प्रसन्नता व्यक्त गर्दै नवस्थापित रक्त सञ्चार केन्द्रले नगरवासीहरूलाई आपतकालीन रक्त आपूर्तिमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। मन्त्री पौडेलले भने, “स्वास्थ्य सेवा सर्वसुलभ र सर्वसुलभ बनाउन स्थानीय तहको सक्रियता प्रशंसनीय छ। सरकारले यस्ता पहलहरूलाई थप सशक्त बनाउन आवश्यक सहयोग गर्नेछ।”
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले विगत १७ वर्षदेखि नगर क्षेत्र र आसपासका बासिन्दालाई सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गरे। उनले भविष्यमा सेवा क्षेत्र थप विस्तार गर्ने योजना पनि सार्वजनिक गरे।
कार्यक्रममा अस्पतालका निर्देशक डा. डि के रोशनले विगत वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी बर्षका कार्यक्रमहरुका बारेमा बताएका थिए। अस्पताल ब्यबस्थापन समितिका सदस्य हरिदास प्रजापतिले अस्पतालमा रक्त सञ्चार केन्द्र शुरु हुन लागेको्म खुशी ब्यक्त गर्दै स्वागत मन्तब्य राख्नु भएको थियो।
यस अवसरमा खुल्ला रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो। रक्तदानमा नगरका पदाधिकारी, कर्मचारी, स्वयंसेवक र स्थानीयवासीहरू सक्रियताका साथ सहभागी भएका थिए। त्यस्तै, अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफूल र पोषणयुक्त आहार वितरण गरिएको थियो, जसले कार्यक्रमलाई अझ मानवीय र सकारात्मक उर्जा दिएको थियो।
स्थापना दिवस र रक्त सञ्चार केन्द्रको शुभारम्भसँगै नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आगामी दिनहरूमा आधुनिक स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। कार्यक्रमलाई बागमति प्रदेश सभा सदस्यहरु, नगरपालिकाका विभिन्न वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू, राजनैतिक दलका प्रतिनिधिहरु, सामाजिक संघसंस्था प्रतिनिधिहरू तथा स्थानीय नागरिकहरूले सक्रिय सहभागिता रहेको थियो।
फोटो फिचर:






PC: NKFMH