रामपुर, चितवन, १९ जेठ २०८२:
शिब बराल
वाग्मती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको नेपालको पहिलो अत्याधुनिक Biosafety Level-3 प्रयोगशाला आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

यो प्रयोगशाला भरतपुर महानगरपालिका–१५, रामपुरस्थित कृषि तथा वन विश्वविद्यालय अन्तर्गतको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायमा स्थापना गरिएको हो।
समारोहमा विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलियाले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथि वाग्मती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय श्री प्रकाश श्रेष्ठ रहनुभएको थियो।

कार्यक्रममा वक्ताहरूले यस प्रयोगशालाले पशु, मत्स्य, वन तथा कृषिक्षेत्रमा देखिने संक्रामक रोगहरूको पहिचान, निगरानी, अनुसन्धान तथा नियन्त्रणमा उच्चस्तरीय सहयोग गर्ने विश्वास व्यक्त गरे। साथै वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा दक्ष जनशक्ति उत्पादनमा यसले राष्ट्रियस्तरमै नमूना प्रयोगशालाको रूपमा योगदान दिने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षण तथा प्रमाणिकरण सेवा दिने लक्ष्य राखिएको यस प्रयोगशालाबाट कृषिजन्य उत्पादनको गुणस्तर सुधार, निर्यात प्रवर्द्धन, आयातमा निर्भरता घटाउने तथा आर्थिक स्वावलम्बनमा योगदान पुग्ने विश्वास गरिएको छ।
Biosafety Level-3 प्रयोगशालामा उच्च सुरक्षा मापदण्डअनुसार संक्रामक रोगका नमूनाहरू सुरक्षित ढंगले परीक्षण गर्न सकिने सुनिश्चितता गरिएको छ। यो प्रदेशस्तरमै मात्र नभई नेपालमै पहिलो आधुनिक प्रयोगशाला हो, जसले विज्ञान र प्रविधिको प्रयोगद्वारा कृषिको आधुनिकीकरण गर्ने दीर्घकालीन योजनामा टेवा पुर्याउनेछ।
कार्यक्रम सञ्चालन प्रयोगशाला निर्माण संयोजक तथा विश्वविद्यालयका प्रा. डा. रेवन्त कुमार भट्टराईले गर्नुभएको थियो। समारोहमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, प्रदेश सरकारका उच्च अधिकारीहरू, विद्यार्थी, तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।