भक्तपुर, १९ जेठ २०८२ः
बागमती प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा आयोजित न्युनतम सेवा मापदण्ड (Minimum Service Standards – MSS) को मुल्यांकन सार्वजनिक गरिएको छ। भक्तपुर अस्पतालले यसपटक पनि आफ्नो उत्कृष्टता कायम राख्दै देशभरकै उच्चतम अंक ९०% प्राप्त गरी Secondary A Level बाट Secondary B Level मा अपग्रेड हुन सफल भएको छ।

यो मुल्यांकन जेठ १३ र १४ गते विज्ञ टोलीको सहभागितामा सम्पन्न भएको थियो। प्राप्त परिणाम आज जेठ १८ गते एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरियो, जसमा प्रमुख अतिथिका रूपमा स्वास्थ्य मन्त्री माननीय किरण थापा तथा विशेष अतिथिका रूपमा स्वास्थ्य सचिव डा. सुमित्रा गैतम उपस्थित हुनुहुन्थ्यो।

स्मरणीय छ, अघिल्लो वर्षको MSS मुल्यांकनमा पनि भक्तपुर अस्पतालले Secondary A Level मा देशभरमै उत्कृष्ट प्रदर्शन गरेको थियो। यस पटकको प्रगति यस संस्थाको सतत सुधार, सेवा गुणस्तरमा प्रतिबद्धता र दक्ष नेतृत्वको प्रतिफल हो।
भक्तपुर अस्पतालले यो उपलब्धिलाई सम्पूर्ण टिमको मेहनत, जनताको भरोसा र सरकारी नीतिको प्रभावकारी कार्यान्वयनको प्रतिफल भन्दै आगामी दिनमा अझ उच्च सेवा स्तर कायम राख्ने प्रतिवद्धता जनाएको छ। यस उपलब्धिले भक्तपुर अस्पताललाई मात्र होइन, सम्पूर्ण बागमती प्रदेश र देशकै स्वास्थ्य प्रणालीलाई प्रेरणा दिनेछ।
