शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ऐतिहासिक उपलब्धिः नेपाली चिकित्सक टोलीद्वारा विश्वस्तरीय सेवा
भक्तपुर, १९ जेठ २०८२ः
नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एउटै बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा गरिएको यो जटिल शल्यक्रिया पश्चात बिरामी १९ दिनभित्रै पूर्ण स्वास्थ्य लाभ गरी आज डिस्चार्ज भएका छन्।

यो ऐतिहासिक कार्यको नेतृत्व वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले गर्नुभएको हो। साथै केन्द्रका विभिन्न विभाग प्रमुखहरू डा. कल्पना कुमारी श्रेष्ठ (नेफ्रोलोजी), डा. दिपेश श्रेष्ठ (युरोलोजी), डा. आरती राई (एनेस्थेसिया तथा क्रिटिकल केयर), डा. सबिना श्रेष्ठ (प्याथोलोजी), डा. कृष्ण बुढाथोकी (रेडियोलोजी), डा. प्रवेश न्यौपाने (कार्डियोलोजी), र नर्सिङ निर्देशक पुजा कोइरालाको टोली समेत प्रत्यक्ष रूपमा संलग्न रहेको थियो।

अन्य विभिन्न अस्पतालबाट आएका विज्ञहरू डा. रोशन घिमिरे, डा. सुवास आचार्य, डा. दिनेश चटौत, र कलेजो प्रत्यारोपण फिजिसियन डा. शेखर पौड्यालले समेत शल्यक्रियामा सक्रिय सहयोग पुर्याएका थिए।
प्रत्यारोपण सफल भएपछि बिरामी र उनका परिवारले यति जटिल प्रक्रिया नेपालमै न्यूनतम शुल्कमा छिटो र सफल रूपमा सम्पन्न भएकोमा आश्चर्य व्यक्त गर्दै भने “यो त सपना जस्तै लाग्यो।”
शल्यक्रियालाई सफल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सक्रिय भूमिका रहेको थियो। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रत्यक्ष पहल र समन्वयबाट सम्पूर्ण प्रक्रिया सहज रूपमा सम्पन्न भएको चिकित्सक टोलीले जनाएको छ।
अंगदाता १८ वर्षीय मस्तिष्क मृत युवकका परिवार तथा काठमाण्डौ मेडिकल कलेजलाई यस कार्यमा अमूल्य योगदान दिएको भन्दै विशेष धन्यवाद व्यक्त गरिएको छ।
डा. पुकार श्रेष्ठले भने “नेपालमै अब विश्वस्तरीय प्रत्यारोपण सेवा सम्भव छ। अंग फेल भएका दाजुभाइ-बहिनीहरूले अब विदेश जानुपर्ने बाध्यता छैन।”